डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

Posted on: 05 Dec, 2016

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व्यक्तिहरु मध्ये २ जना महिलाहरुले पनि रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरका मन्त्री डम्बर भण्डारीले बताएका छन । उनका अनुसार अन्य महिनाहरुमा महिलाहरुले खासै रक्तदान गर्न चासो नदेखाउने गरेको भएपनि यो महिनामा आइतबार मात्रै २ जना महिलाले रक्तदान गरेका हुन । महिला रक्तदाताहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुरामा अध्यनरत छात्रा कमला थापा र पद्मा साँउद हुन । महिला रक्तदाता दुइटैले आफ्नो जीवनको १८ बर्ष पुरा भएको अवसरमा रक्तदान गरेको बताएकि थिइन । अघिल्लो महिनामा भने रक्तसञ्चार केन्द्रमा १२ जना ब्यक्तिले स्वेच्छिक रुपमा रक्तदान गरेका थिए । यसरी स्वैच्छिक र नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई बिभिन्न कार्यक्रमहरुमा धन्यबाद दिने र सम्मान समेत गर्ने गरिएको उनको भनाई छ । अहिले डडेल्धुरा जिल्लामा मासिक रुपमा १४ प्रिन्ट रगत खपत हुने गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका टेक्नोलोजिष्ट गणेश ऐरले स्वयमसेवी रक्तदाताहरुको सहयोगले अहिले डडेल्धुरा जिल्लामा रगतको अभाव नभएको बताएका छन । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाको चासो बढ्दै गएको रक्तसञ्चार केन्द्रका टेक्नोलोजिष्ट ऐरले बताएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!