डल्फिन गणना कार्य सम्पन्न

Posted on: 19 Jul, 2016


नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन) गणना २०७३ सम्पन्न भएको छ । 

नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोँस (डल्फिन) गणना कार्य गरीएको थियो  । स्थानिय सोँस संरक्षण केन्द्रको १५ स्थानमा सहभागी कार्यकर्ताहरूले यस गणनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त गणना कार्यको नेतृत्व प्राणीविद डा. मुकेशकुमार चालिसेले गर्नु भई प्राणीशास्त्रीहरू धिरेन्द्र ब. चन्द, अनुज घिमिरे, सुनिल खतिवडा तथा सिविस भण्डारी लगायतको टोलीले कैलालीका महोना, कान्द्रा, काडा, राप्ति लगायतका १५ वटा गणना केन्द्रहरूमा गई अनुगमन तथा गणना कार्यको रेखदेख गर्नुभएको थियो ।

एकै पटक एकै समयमा गणना कार्य भई आँकडा उपलब्ध हुनगएबाट पानी भित्र बसोबास गर्ने स्तनधारी सोँसको आँकडा नदोहरीने कुरा बिश्वस्त हुन सकिने प्राणीशास्त्री चन्दको दावी छ । नेपालमा संस्थागतरुपमा यस संरक्षित प्राणीको यसरी गणना भएको पहिलो पटक भएको जानकारी सोँस संरक्षण केन्द्रका सचिव श्री बिजयराज श्रेष्ठले बताउनु भएको छ ।

करिब एक महिनाको अध्ययन, चार दिनको ढुङ्गाना टोलको स्थलगत छलफल तथा एक दिनको गणनाबाट चार दर्जन सोँस आंकलन गरिएको जनाएको छ । सोँस नेपालका ठूला जलरासी भएका नदीहरू– कोशी, गण्डकी, कर्णाली तथा महाकालीमा पहिले धेरै पाईनेभए पनि हिजोआज कर्णाली छेउछाउ बिशेषगरी मोहना नदी तथा यसका अरु सहायक नदीहरू रहेको कैलाली जिल्लामा मात्र पाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!