बझाङमा दोब्बर धान उत्पादन

Posted on: 04 Oct, 2016

असोज १८, बझाङ । जिल्लाका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ धानको बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् । 

परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको बीउ लगाएपछि दोब्बर उब्जनी भएको हो । जिल्लाका हेन्तवाडा, डुग्री, सम्देउ, चैनपुर, गोलाई, देबल, सेलाखेत, खेइरा, भोपुर, साइलावर, मालझुली, जालतडी, सतियाँ र मलारीलगायत गाविसमा यसपाली भोकमरी हट्ने भन्दै स्थानीयवासी खुसी भएका छन् । 

“गत वर्षभन्दा दोब्बर धान फलेको छ, यसपाली भोकमरी टर्ने भयो,” जयपृथ्बी नगरपालिका– ७ का केशव खड्काले भन्नुभयो । आगामी वर्षका लागि चार बोरा बीउ राखेको उहाँको भनाइ छ । यस्नतै सोचेभन्दा दोब्बर उब्जनी भएपछि जयपृथ्वी नगरपालिका–४ खेइराका वीरबहादुर कुँवर आफूले उपभोग गरेर करिब रु २० हजारसम्मको धान बिक्री गर्ने लक्ष्य राखेको बताउनुहुन्छ । 

दुई वर्षयता जिल्ला कृषि कार्यालयले उन्नत बीउ उपलब्ध गराउन थालेपछि तरकारी, धान, गहँुको उब्जनी बढी हुने गरेको नानदेव कृषक समूहका अध्यक्ष केशव रोकाया बताउनुहुन्छ । जिल्लामा परम्परागत अन्न बालीको बीउ र पुरानै खेती प्रणालीले खाद्यान्न कम उब्जनी हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पोण्डेले बताउनुभयो । “यस वर्ष कार्यालयले हरजितनाथ धानको बीउ चार टन उपलब्ध गराएको थियो,” उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!