अब विदेशमा रहेका नेपाली कामदारले पठाएको रकम घर-घरमै पुर्याइने

Posted on: 08 Apr, 2017

चैत २६, काठमाडौं | हुलाक सेवा विभागले विदेशबाट नेपालीहरुले पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । हुलाक विभागद्वारा शुक्रवार राजधानीमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले  विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याउने बताएका हुन् । 

उनका अनुसार हुलाकीमार्फत घरघरमा पैसा पुर्यउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ । आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पुर्याइने छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने महानिर्देशक अधिकारीले बताए । हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ ।

 विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले हुलाक सेवाको पुनःसंरचना गर्दै सबै हुलाक कार्यालयलाई प्रविधियुक्त बनाउने मन्त्रालयको योजना रहेको पनि जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!