कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई १४ लाखको बीमा रकम प्रदान

Posted on: 23 Dec, 2018

पुष ८, खोटाङ (रासस) | वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । 

गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो । 

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताउनुभयो । दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गर्नुभयो । 

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत रु ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ । 

उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन् । धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ । 


तश्विरमा: नगरपालिकाका प्रमुख दिपनारायण रिजालको हातबाट १४ लाखको चेक हस्तान्तरण हुँदै | तश्वीर: कमल ढकालको फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!