कतारको ऐतिहासिक निर्णयः रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौं । कतारले श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानून नं १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि अव रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । 

कतार सरकारको यस निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले यसलाई ऐतिहासिक परिवर्तन भनेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ । यसले कतारी श्रम बजारमा नयाँ युग सुरु हुने आइएलओको भनाई छ । 

कतारले यसअगाडी नै कफाला हटाउने घोषणा गरिसकेको थियो । यसैगरी कानून नं १७, २०२० लागू गर्दै कतारले न्यनूतम तलव तोकेको छ । सो कानून अनुसार अव कतारमा न्यूनतम तलव १ हजार रियाल हुनेछ । यो निर्णय सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिना भित्रमा लागू हुने व्यवस्था छ । यो निर्णय सवै श्रमिकलाई लागू हुनेछ । यसैगरी कतारमा हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवास सहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ ।

कतार सरकारको निर्णयलाई अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले पनि महत्वपूर्ण निर्णय भन्दै स्वागत गरेको छ । नयाँ कानूनले रोजगारदाताको श्रमिक माथिको नियन्त्रणको अन्त्य हुने आईटीयूसीको धारणा छ । यसैगरी खाडी क्षेत्रमै न्यूनतम ज्याला निर्धारण गरेर कतारले ऐतिहासिक काम गरेको सो संस्थाको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!