नेपाल एयरपोर्ट भारतीय नागरिकको लागि खुलेर नेपालीको लागि बन्द भएको हो ?

Posted on: 18 May, 2021

अनिल अधिकारी | जेठ ४, काठमाडौँ | नेपालमा नयाँ भेरिएन्ट सहितको कोरोना महामारी फैलिदै गएपछि यात्रू आवत/जावतको लागि वैशाख २३ गतेदेखि बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार भने चहलपहल देखिएको छ । नेपाल सरकारले भारतीय नागरिकलाई साउदी जान दिने निर्णय गरे संगै विमानस्थलमा चहलपहल देखिएको हो । 

भारतीय दुतावासको पहलमा भारतीय नागरिकहरुलाई साउदी जान दिन १० उडान गर्ने निर्णय भएसंगै नागरिक उड्डयन प्राधिकरणको आलोचना भएको छ । नेपालीहरुलाई उडानमा प्रतिबन्ध लगाएर भारतीय नागरिकहरुलाई उडान भर्न दिएको भन्दै सामाजिक संजालमा आलोचना भएको हो । यसै सम्बन्धमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले भने निषेधाज्ञा अघिनै नेपाल आएर काठमाडौँमा अलपत्र परेकाहरुलाई मात्र साउदी जान दिन लागिएको जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यो सातालाई १० उडानको अनुमति दिएको साझा सबाललाई जानकारी दिए । तिवारीका अनुसार सबै उडानमा निषेधाज्ञाको कारण  काठमाडौँमा लामो समयदेखि रोकिएका भारतीय नागरिकहरुले उडान भर्नेछन् । 

लामो समयदेखि काठमाडौँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई भारतीय दूतावासले उद्दारको लागि समन्वय गरेको र साउदी सरकारले समेत अनुमति दिएपछि उडानको लागि सहमति भएसंगै नेपाल एयरलाइन्सको ७ उडान र हिमालय एयरलाइन्सको ३ उडान मार्फत साउदी पठाउन दिईएको छ । वैशाख १६ देखि नेपालमा निषेधाज्ञा भएको कारण त्यसअघिनै नेपालबाट साउदी जान पाइने आशामा काठमाडौँ आएर तोकिएका होटलहरुमा २० देखि ३० दिनदेखि क्वारेन्टाइनमै रहेकाहरुलाई उद्दार गर्न खोजिएको बताइएको छ । 

साउदी जान पाइने आशामा भारतबाट नेपाल आई अलपत्र परेकाहरु मध्ये अधिकांश वैदेशिक रोजगारको क्रममा साउदी जान लागेका कामदारहरु रहेका छन् । नेपालमै अलपत्र अवस्थामा रहेपछि उनीहरुको खर्च भारतबाट परिवारलेनै पठाईरहेको गुनाशो छ । जेठ १७ गतेसम्म नेपाल एयरपोर्ट बन्द हुने पछिल्लो निर्णयसंगै आफ्ना नागरिकहरुको उद्दारको लागि भारतीय दुतावासले पहल गरेको थियो । हाल भारतबाट आई बिभिन्न होटल क्वारेन्टाइनमा रहेकाहरुको संख्या झन्डै दुई हजार हुनसक्ने भनिएको छ, तर एकिन डाटा नेपाल सरकार र भारतीय दुतावासले सार्वजनिक गरेका छैनन् । 

यो साता १० उडानको अनुमति पाएसंगै भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि साउदी जानको लागि टिकट काट्न सक्नेछन् । जसको लागि हिमालय एयरलाइन्सले टिकट रेटनै तोकेको छ । साउदी जानको लागि एयरलाइन्सले ८२० डलर भाडा तोकेको छ । 

तश्वीर: साझा सबाल/काठमाडौँ

भारतीय नागरिक आईराख्ने र सेटिङमा पठाईराख्ने वातावरण नहोस्  

भारतीय नागरिकहरुलाई साउदी जान दिने निर्णय भएसँगै यो निर्णयको गलत प्रयोग हुनसक्ने भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । लामो समयदेखि नेपालमा अलपत्र परेका भारतीय नागरिकहरुलाई साउदी पठाउने बिषयमा  निश्चित उडान खुलेकोप्रति आपत्ति नरहे पनि नेपालको बाटो हुँदै जान पाइने भएपछि सेटिङ गरेर भारतीय नागरिकहरु फेरी नेपाल छिर्न सक्ने वा छिरिसकेको हुनसक्ने र उद्दारको नाममा कमाउधन्दा भईराख्न सक्ने भन्दै चासो व्यक्त गरिएको छ । भारतीय दुतावासले हाल काठमाडौँमा आफ्ना कति नागरिकहरु अलपत्र परेका छन् भन्ने तथ्यांक सरकारलाई दिनुपर्ने र त्यसै अनुरुप मात्र उडानहरु तोक्नुपर्ने धारणा सरोकारवालाहरुको छ । 

नेपाल सरकारले १० उडानको मात्र अनुमति दिँदै गर्दा भारतीय दुतावासले भने काठमाडौँमा रोकिएका आफ्ना सबै नागरिकहरुलाई नपठाउनजेल उडान गरिरहन आग्रह गरेको जानकारी प्राप्त भएको छ । यसै विषयलाई लिएर सरोकारवालाहरुले भारतीय दुतावासले सरकारलाई एकिन डाटानै नदिई आफ्ना नागरिकहरुलाई साउदी जान दिनको लागि गरेको सम्झौतामा प्रश्न चिन्ह खडा भएको र हाल १० उडान तोकिएकोमा भारतीय दुतावासकै पहलमा थप उडान भएमा पछिल्लो निर्णय माथिनै शंका गर्नुपर्ने बताएका छन् । दुतावासले एकिन तथ्यांक नदिंदा मिलिमतोमा उडान थप्दै जाने, भारतीय नागरिकहरुलाई सेटिङमा भारतबाटै ओसारिरहने, कोरोना जोखिम बढाईरहने र कमाईको धन्दा चलाईरहने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । 

यता वैदेशिक रोजगार क्षेत्रमा आवद्ध व्यवसायीहरुले पनि सरकारको पछिल्लो निर्णयमा चासो व्यक्त गरेका छन् । कोरोनाको कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा भिसा आईसकेका हजारौं नेपालीहरुलाई नेपालमै रोकेर एकोहोरो  भारतीय नागरिकलाई साउदी पठाउदा नेपालीले रोजगार समेत गुमाउन सक्ने बताएका छन् । उनिहरुले स्वास्थ्य मापदण्ड पालना गराई नेपालीहरुलाई पनि साउदी जान दिन सरकारसँग आग्रह गरेका छन् । साथै निषेधाज्ञा अघिनै काठमाडौँ आएर अलपत्र परेकाहरुको आधिकारिक डाटा लिएर त्यस बाहेक फेरी आउन सक्ने भारतीयहरुलाई नेपालको बाटो प्रयोग गरि विदेश जान रोक्नुपर्ने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!