'मेरो फिल्मको डेट अरुसँग नजुधोस भनेर तय गर्छु'

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौं,न्युज कारखाना | नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरको प्रभाव कम भएसँगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिँदैछ । यसैक्रममा आउँदो वर्ष अर्थात ३० वैशाख २०७९ मा फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरेको हो । 

नेपालमा २१ असोजबाट हल पुनः खुले पनि नेपाली फिल्मको रिलिज सेड्युल भने सार्वजनिक हुन सकेको छैन । वितरक तथा प्रदर्शक आन्तरिक तयारीमा रहेकाले पनि फिल्मको डेट आउँदो वर्षको वैशाखमा राखिएको निर्देशक दीपेन्द्र के. खनालले बताए । 'मैले आफ्नो फिल्मलाई कसैसँग डेट नजुधोस भनेर नै खाली डेटमा घोषणा गर्ने गरेको छुँ,' निर्देशक खनाल भन्छन्, 'अब हामी नेपाली फिल्मकर्मीले एक अर्काको फिल्मलाई बाधा नपुग्ने गरि फिल्म प्रदर्शन गर्नु पर्छ ।' उनले आफूले घोषणा गरेको डेटले अन्य फिल्मलाई असर नगर्नेसमेत बताए । 

स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । दीपेन्द्र के. खनालको निर्देशनमा तयार फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा तयार फिल्ममा स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य भएको हो ।

यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!