एमआरपि (पासपोर्ट) सम्बन्धि ३२ प्रश्नहरुको जवाफ थाहा पाउनुहोस्

Posted on: 12 Nov, 2020

१. एम आर पि (MRP) भनेको के हो ?

उत्तर: एमआरपि (MRP) को पूर्ण रुप Machine Readable Passport (MRP) अर्थात 'यन्त्रवाचक राहदानी' हो । यो एमआरपिको डाटा पेज (पेज नं.३ जसमा वाहकको फोटो लगायतका सूचनाहरु राखिन्छ) मा रहेको सूचनाहरु मेशिनले पढ्न सक्ने हुँदा सूचनाहरु सजिलै मेशिनद्वारा extract गर्न सकिन्छ । हस्त लिखित राहदानीको तुलनामा यो सजिलो र सुरक्षित हुन्छ ।

२. के एमआरपि बनाउनु अनिवार्य छ ?

उत्तर:  ICAO को नियम अनुसार नोभेम्बर २४, २०१५ पश्चात एमआरपि नभई विदेश भ्रमण गर्न पाईदैन ।

३. नयाँ एमआरपि बनाउन के गर्ने ?

उत्तर: नयाँ एमआरपि बनाउनका लागि रीतपूर्वक राहदानी फाराम भरी एमआरपिलाई तोकिए अनुसारको फोटो खिची सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट वा द्रुत सेवाको लागि राहदानी विभाग, नारायणहिटीबाट आवेदन दिन सकिन्छ । कागजात रुजु भए पश्चात राहदानीका लागि तोकिएको शुल्क तिरी आवेदन दिनु पर्दछ । राहदानीको निमित्त आवेदन निम्न अनुसार दिन सकिन्छ ।

क) आवेदक नेपालमा भए

राहदानी आवेदक नेपालमा रहेको अवस्थामा साधारण सेवाका लागि जुन जिल्लाबाट नागरिकता/नाबालक परिचयपत्र जारी गरिएको हो सोही जिल्लामा स्वयं उपस्थित भई आवेदन दिन सकिन्छ ।

यदि आवेदकलाई राहदानी तुरुन्त आवश्यक परी द्रुत सेवामा राहदानी लिनु पर्ने छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट फोटो सहितको सिफारिश (नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्रको प्रमाणीकरण) लिई राहदानी विभाग नारायणहिटी काठमाण्डौमा आवेदन दिनु पर्दछ । विभागबाट आवेदन दिँदा Online मार्फत Pre-enrollment फारम भरी सो को प्रिन्ट वा Barcode Number लिई आउनुपर्नेछ ।

ख) आवेदक विदेशमा भएमा

विदेशमा रहेका नेपालीहरुले राहदानीका लागि आवेदन दिदा त्यहाँ अवस्थित नेपाली राजदूतावास वा यदि उक्त देशमा राजदूतावास रहेनछ भने उक्त देश जुन नेपाली राजदूतावासको कार्यक्षेत्र भित्र पर्दछ सोहि नेपाली राजदूतावासमा आवेदन दिन सकिन्छ । विदेशमा आवेदन दिँदा द्रुत सेवा उपलब्ध छैन ।

४. राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?

क) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र (१ प्रति प्रतिलिपि सहित)

ख) नावालिग (१६ वर्ष उमेर पूरा नभएको) हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नाबालक परिचयपत्रको सक्कल (१ प्रति प्रतिलिपि सहित)

ग) द्रुत सेवा ( एक दिन – रु १५,०००, दुइ दिन – रु १२,००० वा तिन दिन – रु १०,००० ) अन्तर्गत राहदानी विभागमा आवेदन दिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्धारित ढाँचामा उपलब्ध गराईएको नागरिकता/नाबालक परिचयपत्र प्रमाणिकरण

घ) पहिला राहदानी लिएको भए सोको सक्कल (१ प्रति प्रतिलिपि सहित)

ङ) Online मार्फत Pre-enrollment (पूर्व दर्ता प्रणाली) बाट आवेदन गरेको फारम प्रिन्ट गरी निकाल्न वा Barcode Number प्राप्त गर्न, यस विभागको web page www.nepalpassport.gov.np मा Log In गर्नुहोस् वा Mobile app ‘Nepal Passport’ प्रयोग गर्नुहोस् ।

च) विरामी, वालक, वृद्ध वा अशक्तको हकमा पुरानै ढाँचाको ICR (Intelligent Character Recognition) फर्म Manually भरी पेश गर्न सकिने ।

५. मसंग राहदानी विभाग,काठमाडौंबाट जारी भएको पुरानो हस्तलिखित राहदानी छ, मैले पुनः राहदानी विभागबाट MRP आवेदन दिन जिल्लाको सिफारिस ल्याउनु पर्छ?

पर्छ । हस्तलिखित राहदानीको Digital अभिलेख नरहने हुँदा जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा आवेदन दिन सकिन्छ । एक पटक यस विभाग वा जिल्ला प्रशासन कार्यालयबाट MRP को लागि कागजातहरु पेश गरेर MRP प्राप्त गरिसकेपछि, पुन: अर्कोपटक MRP आवेदन दिंदा त्यस्तो जिल्ला प्रमाणिकरण आवश्यक पर्दैन किनभने MRP जारी गर्दा पेश भएको कागजातहरुको Digital अभिलेख राहदानी बिभागमा राख्ने गरिन्छ ।

६. विदेश स्थित कूटनीतिक नियोगबाट MRP आवेदन दिन जिल्लाको सिफारिस बुझाउन पर्छ?

पर्दैन । तर विदेश स्थित कूटनीतिक नियोगबाट जारि भएको MRP पाना सकिइ अथवा अन्य कुनै कारणले नवीकरण गर्नुपर्ने अवस्थामा भने त्यस्तो जिल्ला प्रमाणिकरण (नागरिकताको अभिलेख सम्बन्धि) अनिवार्य गरिएको छ । साथै विदेशमा रहेका नेपालीहरुसंग पुरानो राहदानी वाहेक अन्य कागजातहरु साथमा नहुन सक्ने,भएपनि नागरिकताको प्रमाणिकरण गर्न सम्भव नहुने लगायतका समस्याहरु पर्न गई सर्वसाधारणले झन्झट बेहोर्न नपरोस् भनि यस्तो ब्यवस्था गरिएको हो।

७. राहदानीको निमित्त राजश्व दस्तुर कति लाग्छ ?

क) नेपालमा

अ) जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउदा वा राहदानी नविकरण गर्दा रु.५,०००/–

आ) द्रुत सेवामा राहदानी विभाग काठमाण्डौबाट राहदानी लिँदा रु.१५,०००/- शुल्क तिरेर एकै दिनमा राहदानी बनाउन सकिने छ त्यसै गरि रु.१२,०००/- शुल्क तिरेर फारम बुझाएको भोलिपल्ट पाईने र रु.१०,०००/- शुल्क तिरेर ३ दिनमा पाइने छ ।

इ)पुरानो राहदानी हराएकोमा वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा थप दस्तुर रु.५,०००/– लाग्नेछ ।

ख) विदेशमा

हराएको वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा

अ) यस प्रकारको रकम देश अनुसार फरक पर्ने हुँदा सम्बन्धित स्थानमा रहेको नेपाली राजदूतावासमा बुझ्नु होला ।

८. राहदानीमा उल्लेखित विवरण संशोधन गर्नु परेमा के गर्ने ?

उत्तर: एमआरपि संशोधनका लागि सोहि पुस्तिकामा संशोधन हुन नसक्ने हुँदा राहदानी पुस्तिका नै बदल्नु पर्ने भएकोले नयाँ राहदानी नम्बर आउने हुन्छ । यसका लागिः

क) सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा आवेदन दिन सकिन्छ ।

ख) राहदानीको लागि बुझाईएको फाराममा निवेदक बाटै गल्ति भएको रहेछ भने राहदानी जारी भएको मितिले एक वर्ष भित्रमा संशोधन शुल्क रु.५०००/–लाग्छ भने त्यस पश्चात नियमित शुल्क लाग्ने हुन्छ ।

ग) फाराममा भरेको विवरण अनुसार नभई राहदानी छपाई प्रक्रियाका कारण त्रुटी हुन गएमा राहदानी जारी मितिको एक वर्ष भित्रमा(राहदानी प्रयोगमा न आएको भए मात्र ) विभागबाट निःशुल्क संशोधन हुन्छ । तत् पश्चात भने बुँदा(ख)मा उल्लिखित शुल्क लाग्ने हुन्छ ।

९. म सँग हस्तलिखित राहदानीको म्याद वहाल छ, के एमआरपि बनाउनु अनिवार्य छ ?

अनिवार्य छ  । ICAO को नियम अनुसार नोभेम्बर २४,२०१५ पश्चात एमआरपि नभई विदेश भ्रमण गर्न पाईने छैन ।

१०. हस्तलिखित राहदानीको म्याद वहाल हुँदै एमआरपि बनाउन सकिन्छ ?

सकिन्छ । यसको लागि नयाँ एमआरपि बनाउदा अबलम्बन गर्नुपर्ने प्रक्रिया पूरा गर्नु पर्दछ ।

११. मेरो हस्तलिखित राहदानीमा भिषाको म्याद छ, एमआरपि बनाउन सकिन्छ ?

सकिन्छ । पुरानो हस्तलिखित राहदानीमा भिषाको म्याद वहाल रहेको अवस्थामा पनि नयाँ एमआरपि बनाउन सकिन्छ । नयाँ एमआरपिमा पुरानो हस्तलिखित राहदानीको नम्बर राखिने भएकोले पुरानो राहदानीमा भएको भिषाको आधारमा बिदेश भ्रमण गर्न सकिन्छ । यस प्रकार नयाँ एमआरपी जारी हुँदा पुरानो राहदानीमा cancelled without prejudice भन्ने ब्यहोराको छाप लगाईने हुँदा भिषा cancel हुँदैन ।

याद गर्नुहोस भिषाको म्याद वहाल रहेको अवस्थामा उक्त राहदानीमा प्वाल पार्ने वा भिषामा नै cancelled छाप नलागोस भन्नका लागि राहदानी जारी गर्दाका वखत cancel गर्ने अधिकारीलाई जानकारी गराउनु पर्दछ । यसरी एमआरपी लिदाको अवस्थामा दुबै राहदानी सँगै लिई यात्रा गर्नु पर्दछ ।

द्रुत सेवा प्रक्रिया

राहदानी तत्काल जरुरी परि द्रुत सेवामा बनाउनु परेमा राहदानी विभाग काठमाण्डौँमा आवेदन दिनु पर्दछ । यस्तो सेवा जिल्ला प्रशासन कार्यालय वा विदेश स्थित नेपाली नियोगहरुबाट प्राप्त गर्न सकिदैन ।

१२. राहदानी विभागबाट द्रुत सेवाबाट एमआरपि लिन के गर्नु पर्छ ?

आफ्नो नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयबाट वा बसाई सराई भएकोमा बसाई सराई भएको जिल्लामा अवस्थीत प्रशासन कार्यालयबाट प्रमाणित गरी राहदानी विभागमा आवेदन गर्न सकिन्छ । यसका लागि थप दस्तुर लाग्ने हुन्छ र प्राविधिक वा अन्य कारण भएमा बाहेक सामान्यत: आवेदन दिएको तेस्रो कार्यदिनमा राहदानी जारी गर्ने गरिएको छ ।

१३. नागरिकता प्रमाणपत्र प्रमाणीकरण कसरी गर्ने ? र के यो आवश्यक नै हो ?

नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्न सकिन्छ । नागरिकता प्रमणिकरण नभै राहदानी विभागमा आवेदन स्वीकार हुदैन ।

१४. राहदानी विभागमा कसरी आवेदन गर्ने ? कति बजेबाट आवेदन संकलन काउन्टर खुल्छन ? कति बजे सम्म आवेदन बुझाउन सकिन्छ ?

राहदानी विभागमा आईतबार बाट बिहिबार सम्म विहान ९:०० बजेबाट शुरु भई बेलुकी ४:४५ बजेसम्म र र शुक्रबार विहान ९:०० बजेबाट शुरु भई दिउसो २:४५ बजेसम्म राहदानी आवेदनका निमित्त टोकन नम्बर बितरण हुन्छ ।

१५. आवेदन बुझाएपछि एमआरपि लिन आउने मिति र समय कसरी थाहा पाउने ?

राहदानीका लागि आवेदन दिदाको दिन राहदानी लिन कहिले आउने भन्ने जानकारी गराईन्छ ।

१६. आवेदन बुझाएपछि एमआरपि लिन तोकिएको मितिमै आउनु पर्छ ?

राहदानी लिन तोकिएको मितिमै आउनु पर्दछ । कथं कदाचित सो दिन उपस्थित हुन नसकेमा सार्वजनिक विदा नपरेको दिन अफिस खुल्ने समयमा आई लिन सकिन्छ ।

निरन्तर सोधिने थप प्रश्नहरु

१७. राहदानी हरायो, के गर्ने ?

 राहदानी हराएमा नयाँ राहदानी लिनु पर्दछ ।यसका लागि नयाँ राहदानी बनाउदा अपनाउन पर्ने सम्पुर्ण प्रक्रिया अपनाउनु पर्दछ । यसका लागि अतिरिक्त दस्तुर तिर्नु पर्दछ ।

१८. राहदानी हराएमा कति अतिरिक्त दस्तुर तिर्नु पर्दछ ?

 राहदानी हराएमा नेपालमा रु ५००० अतिरिक्त शुल्क तिर्नु पर्दछ । विदेश स्थित नेपाली नियोगहरुको हकमा दोब्बर दस्तुर तिर्नु पर्दछ ।

१९. राहदानीमा भएको विवरणमा त्रुटी देखिएमा के गर्ने ?

राहदानी छपाइ हुँदा कुनै त्रुटी भएमा नयाँ राहदानी जारी हुन्छ । यदि विभाग/कार्यालयको गल्तीका कारण फाराममा भएको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेमा एक वर्ष भित्र पुनः दस्तुर लिई सच्याईन्छ । अन्यथा दस्तुर लाग्ने हुन्छ ।

२० . के राहदानी बुझ्न आउदा तोकिएकै दिनमा आउनु पर्छ ?

 सामान्यतः राहदानी लिन तोकिएको दिनमा आउनु पर्दछ ।उक्त दिन आउन नसकेमा यथाशक्य छिटो राहदानी लिन आउनु पर्दछ ।

२१ . के राहदानी लिन आवेदक स्वयं आउनु पर्दछ ?

 हो, राहदानी लिन आवेदक आफै आउनु पर्दछ । कथम कदाचित स्वयं उपस्थित हुन नसकेमा राहदानी आवेदन वुझाउदाकै वखत मन्जुरीनामा वनाइ सम्बन्धित अधिकृतबाट रुजु गराइ नजिकको कुनै आफन्तलाई मन्जुरीनामा दिन सकिन्छ ।

२२. फोटो खिच्दा गहना लगाउन मिल्छ ?

 सामान्यतः फोटो खिच्दा घाँटी र घाँटीभन्दा माथिका सवै गहना फुकाल्नु पर्दछ । तर सँधै लगाउने र गहनाको कारण व्यक्तिको प्राकृतिक स्वरुपमा कुनै फरक नपर्ने किसिमका साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ ।

२३. के राहदानी नविकरण गर्दा पुरानो नम्वरकै राहदानी बन्दछ ?

 होईन, राहदानी नविकरण गर्दा नयाँ नम्वरको राहदानी बन्दछ ।

२४. मेरो राहदानीमा भिसा छ नविकरण गर्दा के हुन्छ ?

 राहदानी नविकरण गर्दा नयाँ राहदानीमा पुरानो राहदानीको नम्वर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसाको आधारमा भ्रमण गर्न सकिन्छ । यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो सो मुलुकको आधिकारीक निकायसँग बुझ्नु राम्रो हुन्छ ।

२५. राहदानी हरायो, पत्र पत्रिकामा सुचना दिनु पर्दछ ?

पर्दैन । राहदानी हराएमा पत्रपत्रिकामा सूचना ननिकाले तापनि वा प्रहरी प्रतिवेदन नभएता पनि राहदानीका लागि आवेदन दिन सकिन्छ । विभागले हराएको राहदानीलाई रद्ध गरेको सूचना Interpol लाई दिने व्यवस्था छ ।

२६. मैले राहदानी हरायो भनी नयाँ राहदानी बनाएँ । तर पछि पुरानो राहदानी भेटियो, के गर्ने ?

हराएको राहदानी भेटिएमा जुन स्थानवाट राहदानी वनाइएको हो, त्यहाँ सम्पर्क गरी राहदानी रद्ध गराउनु पर्दछ । हराएको राहदानी भेटिएतापनि पनि यसको अभिलेख सम्बन्धित निकायहरुमा पठाइने भएकोले त्यस्तो राहदानी लिइ यात्रा गर्न मिल्दैन ।

२७ .हराएको राहदानी लिई यात्रा गरे के हुन्छ ?

हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारवाही हुन्छ ।

२८. मसंग राहदानी विभाग,काठमाडौंबाट जारी भएको पुरानो हस्तलिखित राहदानी छ, मैले पुनः राहदानी विभागबाट MRP आवेदन दिन जिल्लाको सिफारिस ल्याउनु पर्छ ?

 पर्छ । हस्तलिखित राहदानीको Digital अभिलेख नरहने हुँदा जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा आवेदन दिन सकिन्छ । एक पटक यस विभाग वा जिल्ला प्रशासन कार्यालयबाट MRP को लागि कागजातहरु पेश गरेर MRP प्राप्त गरिसकेपछि, पुन: अर्कोपटक MRP आवेदन दिंदा त्यस्तो जिल्ला प्रमाणिकरण आवश्यक पर्दैन किनभने MRP जारी गर्दा पेश भएको कागजातहरुको Digital अभिलेख राहदानी बिभागमा राख्ने गरिन्छ । तर विदेश स्थित नेपाली नियोगहरुबाट एमआरपी लिएकाहरुको हकमा भने जिल्ला सिफारिस आवश्यक पर्दछ ।

२९. हस्तलिखित राहदानीको म्याद वहाल छ, के एमआरपि बनाउनु अनिवार्य छ ?

अनिवार्य छ  । ICAO को नियम अनुसार नोभेम्बर २४,२०१५ देखी एमआरपि नभई विदेश भ्रमण गर्न पाईदैन ।

३०. नागरिकता प्रमाणपत्र प्रमाणीकरण कसरी गर्ने ? के यो आवश्यक नै हो ?

नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्न सकिन्छ । नागरिकता प्रमणिकरण नभै राहदानी विभागमा आवेदन स्वीकार हुदैन ।

३१. आवेदन बुझाएपछि एमआरपि लिन आउने मिति र समय कसरी थाहा पाउने ?

राहदानीका लागि आवेदन पेश गर्दाका बखत राहदानी लिन कहिले आउने भन्ने जानकारी गराईन्छ ।

३२. राहदानी सम्बन्धि विस्तृत जानकारी कहाँ पाइन्छ ?

 राहदानीको लागि आवश्यक फाराम, फोटो लगाएतका विस्तृत विवरण विभागको वेबसाइट www.nepalpassport.gov.np मा अथवा मोबाईल एप्स ‘Nepal Passport’ डाउनलोड गरी हेर्न सकिनेछ ।

सावधानः राहदानी बनाउन प्रचलित कानूनमा उल्लिखित शुल्कको अतिरिक्त कुनै थप शुल्क तिर्नु पर्दैन, कसैले कुनै पनि वहानामा अनधिकृत रुपमा रकम मागेमा गोप्य रुपमा उजुरी दिन सकिनेछ । हुलाकबाट वा विभागको इ–मेल communication@ nepalpassport.gov.np मार्फतपनि यस्ता उजुरी गर्न सकिनेछ । विभागमा सेवा लिँदा नेपाल सरकारले तोकेको राजश्व रकम बाहेक कुनै थप रकम कसैलाई बुझाउनु पर्दैन । यस प्रकारको कुनै उजुरी भएमा सिधै देहायको ठेगानामा जानकारी गराउन सकिन्छ :–

श्री महानिर्देशक

राहदानी विभाग, नारायणहिटी

टेलिफोनः ०१–४४१६०१०,११,१२,१३,१४,१५

ई–मेलः [email protected]

वेभसाइटः www.nepalpassport.gov.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!