फागुन ८, काठमाडौं | सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरिसकेको छ |
लेखा समितिमा छलफलका क्रममा रहेको विषयसँग जोडी सामाजिक संजालमा अनर्गल प्रचार गरेको तथा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै छानबिन गरी कारबाही गर्न पत्र पठाएको हो | उनी संचारमन्त्री गोकुल बाँस्कोटासंगको कमिसनमागेको अडियोमा कुराकानी गरिरहेका व्यक्ति पनि हुन् |
उनले बिहीबार बिहान सामाजिक संजालमार्फत लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियालाई बिहीबार अनुमोदन गर्न लागेकोले बाध्य भएर आफूले अडियो सार्वजनिक गरेको बताएका छन् | लेखा समितिका सांसदहरुको फोटो फेसबुकमा राख्दै उनीहरु कमिसन काण्डमा मुछिएका व्यक्ति भएको लेखेका कारण अर्का एक व्यक्ति प्रभात किशोर उपाध्यायलाई पनि छानबिन र कारबाहीका लागि लेखा समितिले क्राइम ब्युरोलाई लिखित पत्र पठाएको छ |
सांसदहरूले पनि सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेपछि लेखा समितिले उक्त निर्णय गरेको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!