रियल म्याड्रिडद्वारा बार्सिलोना पराजित, रियल लिगको शीर्ष स्थानमा

Posted on: 25 Oct, 2020

कात्तिक ९, काठमाडौँ | सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनलाई पराजित गरेको छ । रियलले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । रियलले बार्सिलोनालाई क्याम्प नाउमा हराएको सन् २०१६ को अप्रिलपछि पहिलो पटक हो ।

निकै रोमाञ्चक खेलमा रियलले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो । करिम बेन्जेमाको पासमा फेडेरिको भालभर्डेले रियललाई अग्रता दिलाए । तर, तीन मिनेटपछि नै अन्सु फातीले बराबरी गोल फर्काए ।

पहिलो हाफमा करिम बेन्जेमा र लियोनेल मेस्सीले आ–आफ्नो टोलीलाई अग्रता दिलाउने अवसर गुमाए । पहिलो हाफमा दुवै क्लबका गोल किपरले उत्कृष्ट प्रदर्शन गर्दै खेल १–१ को बराबरीमा राखेका थिए ।


दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गर्दै रियलमाथि दबाब राख्ने प्रयास गरेको थियो । तर, खेलको ६३ औँ मिनेटमा रियलले पेनाल्टी हान्ने अवसर पायो, जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरेपछि रियालले अग्रता लियो ।

रियलले अग्रता लिएपछि बार्सिलोना आक्रामक बन्यो । जसमा संयमता अपनाएर खेलेको रियालले लुका मोड्रिचको थप एक गोलको सहायताले अर्को गोल गर्दै जीत सुनिश्चित गरे ।

सन् २००८ पछि बार्सिलोनाविरुद्ध लगातार दुई जीत निकाल्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना भने स्पेनिस ला लिगामा लगातार तीन खेलमा जीतविहीन बनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!