महिलाले साउन महिनाभर किन लाउँछन् हरियो चुरा र मेहन्दी ?

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं | आजदेखि साउन सुरु भएको छ । आज संक्रान्तिको दिन समेत भएकाले लुतो फाल्ने चलन पनि छ । तर यो चलन बिस्तारै लोप हुँदैछ । यता पछिल्लो समय साउनमा हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँने गर्छन । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ । 

पहिले गाउँघरमा मेहन्दी पाईंदैनथियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्ने गर्थे । तर हिजोआज गाउँ-गाउँमा पनि मेहन्दी पाइन्छ । के सहर के गाउँ अहिले साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई स्वीकार गरेका छन्। 

यदी पौराणिक मान्यतालाई हेर्ने हो भने साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । 

साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । भगवान शिवसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण रुपमा लिन्छन । 

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन चलेको हो ।  

चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!