चितवनसम्म पनि पेट्रोलियम पाइपलाइन ल्याउन सकिने

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौँ | पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने इन्डियन आयल कर्पोरेशनले गरेको एक अध्ययनले देखाएको छ । तर यसका लागि थप अध्ययन गर्न बाँकी रहेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए |

‘आइओसीको अध्ययनले चितवनको लोथरसम्मै पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने सम्भावना देखाएको छ, तर पुन अध्ययन गर्न बाँकी नै छ’, निर्देशक भट्टराईले भने। उनका अनुसार अमलेखगन्जबाट ६२ किलोमिटर लामो पाइपलाइन बनाउँदा चितवनको लोथरसम्म आइपुग्ने छ।

आइओसीले गत वर्षदेखि नै रूट सर्भे गरेको थियो। अहिले विस्तृत इन्जिनियरिङ अध्ययन पुरा गरेको छ। निगमले चितवनको लोथरमा भण्डारण गृह निर्माणका लागि २४ विघा ९ कठ्ठा जमिन खरिद गरेको छ। त्यहीँसम्म पाइपलाइन बिछ्याएर इन्धन भण्डारण गर्ने निगमको योजना रहेको भट्टराईले जानकारी दिए।

चितवनमा बनाइने भण्डारण गृहले तराई र पहाडी क्षेत्रमा इन्धन वितरणका लागि सहज हुने उनले बताए । अमलेखगन्जसम्मको पाइपलाइनले निगमको वार्षिक एक अर्ब १७ करोड खर्च बचत भएको छ, भने चितवनसम्मै आइपुग्दा खर्च अझ धेरै घट्नेछ।

सरकारले गत मङ्लबार मात्र मोतीहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!