मलेसियाको कलिङ भिसा लागेका कामदारलाई लैजाने व्यवस्था गर्न नेपालको आग्रह

Posted on: 18 Mar, 2019

चैत ४, काठमाण्डौं । नेपालले कलिङ भिसा लागेका नेपाली कामदारलाई मलेसिया लैजाने व्यवस्था गर्न मलेसियालाई आग्रह गरेको छ । 

सोमबार मलेसियाको परराष्ट्र मन्त्रालयका कार्यबाहक महासचिव राजा दातो नुरसिरवान बिन जाइनल अबिदिनसँग भएको भेटमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कलिङ भिसा लागेर बसेका नेपाली कामदार ल्याउने व्यवस्था गर्न आग्रह गरेका हुन् । छलफलमा राजदूत पाण्डेले दुई देशबीच भएको एमओयु र त्यसमा पनि खास गरी स्वास्थ्य परीक्षणमा ल्याइएको नयाँ मापदण्डमा मलेसियाले छिटो काम अघि बढाइदिए नेपाली कामदारलाई मलेसिया आउने बाटो खुल्ने बताए ।

भेटमा मलेसियामा रहेका नेपाली कामदारको अवस्था र समस्याका विषयमा पनि छलफल भएको मलेसियामा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै चैत १५ र १६ गते काठमाण्डौंमा हुने लगानी सम्मेलनमा मलेसियन लगानीकर्ताको सहभागीता र लामो समयदेखि हुन नसकेको दुई देशबीचको उच्च स्तरीय भ्रमण सुरु गर्ने  विषयमा पनि कुराकानी भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!