१ सय ६१ म्यानपावरले एक जना पनि कामदार विदेश पठाउन सकेनन्, एसओएस एक नम्बरमा

Posted on: 18 Nov, 2019

मनोज पराजुली, मंसिर २, काठमाडौं । बैदेशिक रोजगारीको लागि काम गर्दै आएका म्यानपावर कम्पनीले एक महिनामा १ जना मात्रै कामदार पठाउने गरेको पाइएको छ । बैदेशिक रोजगार विभागले तयार गरेको कार्त्तिक महिनाको तथ्यांक अनुसार गत महिनामा ६५ म्यानपावर कम्पनीले १/१ जना मात्र कामदारको श्रम स्वीकृति निकालेका हुन् ।

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनि मध्ये १ सय ६१ म्यानपावर कम्पनीले १ जना पनि कामदार गत महिना विदेश पठाएका छैनन् । सरकारले म्यानपावरको नवीकरण हुनका लागि प्रत्येक वर्ष अनिवार्य रुपमा १ सय जना विदेश पठाउनुपर्ने बाध्यकारी नियम ल्याएको छ त्यसका लागि पनि म्यानपावरले एक वर्षमा कम्तिमा सय जना कामदार विदेश पठाउनुपर्नेछ ।  

५१ हजारले लिए श्रम स्वीकृति  

कार्त्तिक महिनामा मात्रै ५१ हजार ५ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका विभागले जनाएको छ । म्यानपावर कम्पनी मार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरि १५ सय १७ र ३० हजार २० जनाले व्यक्तिगत पुन श्रम स्वीकृति लिएको विभागले जनाएको छ । त्यस्तै गरि इपिएस अन्तर्गत दक्षिण कोरियाको लागि २ सय २३ पुरुष र ३ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । गत भदौ महिनामा ३९ हजार ८ सय ४७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने असोज महिनामा १९ हजार ४८२ जनाले मात्रै बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । गत महिनामा बैदेशिक रोजगारीको खोजीमा नेपालीहरु ९२ देश पुगेका छन् ।

मलेसिया जाने बढे 

कार्त्तिक महिनामा साउदीका लागि १० हजार ७ सय ३३ जना, कतारका लागि  ११ हजार २१ जना, कुवेतका लागि २५ सय ६१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

मलेसिया रोजगारी पूर्ण रुपमा खुलेसंगे प्रमुख गन्तव्य मुलुक फेरिएको छ । गत महिनामा मात्रै मलेसियाका लागि ५७ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि म्यानपावर कम्पनीहरुले डिमाण्ड ल्याउन थालेसंगे मलेसिया जानेहरु तुलनात्मक रुपमा बढ्न थालेका हुन् ।

एसओएस एक नम्बरमा 

गत महिना सबैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनीमा एसओएस म्यानपावर सर्भिस परेको छ, जसले ५ सय ३८ जना कामदार विदेश पठाएको छ ।

त्यस्तै गरि दोश्रोमा परेको अन्जली ओभरसिजले ४ सय ६ कामदार विदेश पठाएको छ । तेश्रो नम्बरमा परेको प्याराडाईज इन्टर्नेशनलले ४ सय १ र द रिभर ओभरसिजले ३ सय ४२ जनामात्रै विदेश पठाएको छ । गत आर्थिक वर्ष सबैभन्दा धेरै कामदार विदेश पठाउनेमा द रिभर ओभरसिज एक नम्बरमा रहेको थियो ।  

अदक्ष कामदार बढी 

एक महिनामा विदेश गएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २६ हजार ५९४ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १९ हजार २९३, अर्धसिप भएका ५ हजार ३२१, व्यवसायिक सिप भएका ५१ जना र विशिष्ट सिप भएका १५ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!