२४७ जना नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, बिदाई गर्न राजदूत बिमानस्थलमा

Posted on: 21 Jun, 2020

योगेन्द्र योगी | असार ७, दोहा |  कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् । 

साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं  २१९२  बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

यसै उडानबाट विगत ६ महिना देखि नेपाली दूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२  जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपाली राजदूत डा: महेन्द्र प्रसाद सिंह राजपूत आफै बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गरेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि विदाई गर्न बिमानस्थल पुगेका थिए ।


वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण  योगदान गर्न पनि स्वदेश फर्कन लागेकाहरुलाई राजदूत राजपूतले सुझाव दिएका थिए । 

बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!