योगेन्द्र योगी | असार २९, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले साउदी अरवबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् ।
यात्रुहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य दूतावास जेद्धाले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६० जनाको शव स्वदेश पठाएको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार गैर आवासीय नेपाली संघको निरन्तर पहल, नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा साउदीमा १८ जुनबाट चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई ११ मा हिमालय एयरलाइन्सले दम्मामबाट अन्तिम उडान गरेको थियो।
रियादस्थित दूतावास र वाणिज्य दुतावास जेद्धाले अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार १ सय ८० जनाको नामावली सार्वजनिक गरेको गरेको थियो भने अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढीले नेपाल फर्किन फारम भरेको उपसंयोजक अर्यालले बताए ।
नेपाल सरकारले स्वदेश फिर्तिको लागी गर्दै आएको सहजीकरणको चार्टर्ड उडानहरू तीन दिनको लागि बन्द गरेको जनाएको छ । नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार तेस्रो चरणको उडान यही जुलाई १६ मा साउदीको दम्मामबाट ४ वटा र रियादबाट २ वटा गरी उक्त दिन ६ वटा उडान हुने भएको छ ।
यस्तै, २० जुलाईमा साउदीको रियादबाट २ वटा र दम्मामबाट २ वटा गरी उक्त दिन नेपाल वायु सेवा निगमको विमानले ४ वटा उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।
साउदी अरबमा हालसम्म कोरोनाबाट २ लाख २९ हजार ४ सय ८० संक्रमित भएका छन् । हालसम्म १ लाख ६५ हजार ३ सय ९६ जना निको भएर घर फर्किएका छन् भने २ हजार १ सय ८० जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!