कतारमा टिकट काट्न नसकेका ५५ जना नेपालीलाई टिकट उपलब्ध गराइने

Posted on: 16 Jul, 2020

योगेन्द्र योगी | साउन १, दोहा | कतारमा टिकट काट्न नसकेका नेपालीलाई टिकट उपलब्ध गराइने भएको छ । कतारस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, (एनआरएनए) कतारले र नेपाली व्यवसायी संघ कतारले टिकट काट्न नसक्ने ५५ जना नेपालीलाई स्वदेश फिर्तीको लागि टिकटको व्यवस्था गर्ने भएको छ । 

एनआरएनए कतारबाट २० वटा, नेपाली व्यवसायी संघबाट २० वटा र नेपाली दूतावासबाट १५ वटा गरी ५५ वटा टिकट उपलब्ध गराउन लागिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् । 

प्रवक्ता क्षेत्रीका अनुसार लामो समयदेखि अस्पतालमा बसेका, कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भिर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि टिकट उपलब्ध गराइने छ । 

कतारमा रहेका स्थापित विभिन्न संघसस्थाहरुलाई पिडित नेपालीहरुको विवरण इमेल मार्फद पठाउन अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्त्तदाले बताए । 

यसअघि कतारबाट कोरोना कारण लगायत विभिन्न कारणले स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६  जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । अब दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । 

यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् । कतार लगायत खाडीका अन्य देशहरुमा टिकट काट्न नसकेकै कारण धेरै नेपालीहरु समस्या रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!