राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा पूजा एवम् दर्शन

Posted on: 13 Feb, 2018

फागुन १, काठमाडौँ | महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको छ । 

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवम् दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

कोष सञ्चालक परिषद् सदस्य एवम् प्रचारप्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिनुभएको जानकारीअनुसार धेरै भक्तजन लाममा बस्नुभएकाले उहाँहरूले छोटो समयमा पूजा एवम् दर्शन गर्नुभएको थियोे ।

पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको थियो । उपराष्ट्रपति पुन फर्कनुभएको आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुग्नुभएको थियो । 

दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरभित्रै छिरेर चार लाख भक्तजनले पूजा एवम् दर्शन गरेको उहाँले जानकारी दिनुभयो । यसवर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनको आधिकारिक तथ्यांक लिन विशेष व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने मूलढोकामा नेपाल स्काउटले तथ्यांक संकलनका लागि कुपनको व्यवस्था गरेको जनाइएको छ । 

यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको कोषले जनाएको छ । यसले गर्दा दर्शनार्थी एवम् यात्रुलाई सुविधा पुगेको थियो । बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो । 

यस वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवम् दर्शन गर्ने कोषको प्रारम्भिक अनुमान छ । आज मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!