उपचारका लागि नेता खनाल भारततर्फः पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

Posted on: 16 Jun, 2021

असार २, काठमाडौँ (रासस)। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ ।  नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट  थप उपचारका लागि अपराह्न साढे १२ बजे   नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । 

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।  नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो ।  सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गर्नुभएकोथियो । 

स्वास्थ्यावस्था स्थिर 

नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  ज्वरोसंँगै  थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते  अस्पताल भर्ना गरिएको थियो । 

 नेता खनालको  फोक्सोमा पानी जमेको  र सोही कारणले अक्सिजनको कमी देखिएको थियो ।  नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।  

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई  मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । 

 कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!