पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

Posted on: 06 Oct, 2021

असोज २० , काठमाडौं। श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लिीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन्। नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलँई दुप्चेश्वर र पासाङलाई बिजुलीबजारबाट पक्राउ गरेको हो। प्रहरीकाअनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए। विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए।

सम्झनाको नवीनतर्फका पाँच सन्तान छन्। बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो। शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन्। तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक पटकको प्रयासपछि मात्रै नवीन र पासाङलाई पक्राउ गर्न सकिएको बताइन्। ‘संझना पाँच सन्तानकी आमा हुन्। उनको पहिलो श्रीमान् नवीन हुन्। एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन्। आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिल्दीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुबै जना ढुक्कले बसेका रहेछन्। कर्तुत खुल्न केही समय लाग्यो। अन्नतः दुवै पक्राउ परे।’

प्रहरीका अनुसार सम्झनालाई नविनले ०७१ मा पासाङलाई बेचेका थिए। भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन्। उनी अहिले शक्ति समूहको संरक्षणमा छिन्। नयाँ पत्रिकाबाट साभार ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!