टर्कीले गरेको जवाफी कारबाहीमा ३० सिरियाली सैनिकको मृत्यु

Posted on: 04 Feb, 2020

माघ २१, एजेन्सी | सोमबार टर्कीको सीमामा रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको छ | अधिकारीहरुका अनुसार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको थियो |

सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि आफूले संघर्ष गरिरहेको बताएका छन् | इद्लिबमा सिरियाली सेनाले गरेको गोलाबारीका विरुद्धमा लगातार प्रतिआक्रमण गरिरहने उनको चेतावनी छ |

यसअघि सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले दिएको जानकारीमा टर्कीका हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा छ सिरियाली सैनिक मारिएपछि सिरियाली सरकारी फौजले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा तैनाद टर्कीको सेनामाथि आक्रमण गरेको थियो |

आक्रमणमा टर्कीका थप चार सैनिक मारिएका थिए भने नौ जना घाइते भएका थिए। टर्कीका रक्षा मन्त्रीका अनुसार उनीहरु सिरियाली सुरक्षाकर्मीको आक्रमणमा इद्लिबमा मारिएका छन् | शुक्रबार टर्कीको सेनाको एक समूहले इद्लिबमा सिरियाली सेराकब गाउमा चहलपहल गरेको तर युद्धविराम सम्झौता अनुसार रूसलाई जानकारी नगराएका कारण ‘दुर्घटनाबस’ ‘टर्कीको सेनालाई नै आतङ्ककारी’ को चहलपहल मानेर सिरियाली सेनाले आक्रमण गरेको एक विज्ञप्तिमार्फत उल्लेख छ |

रूस र टर्कीको पहलमा सिरियाको विद्रोही समूहको प्रभाव क्षेत्र मानिने इद्लिब प्रान्तमा युद्धविराम सहमति अनुसार टर्कीको सेना तैनाथ भएको छ भने यसको अनुगमन रूसी वायुसेनाले गरिरहेको विज्ञप्तिमा ब्ताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!