पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार

Posted on: 13 Mar, 2017

फागुन ३०, काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानको आज बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका अध्यक्ष रोधेश्याम लेकालीले जानकारी दिनुभयो । दुवै पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ । वरिष्ठ साहित्यकार माया ठकुरी, अच्युतरमण अधिकारी र युवराज नयाँघरेसहितको तीन सदस्सीय समितिले सो पुरस्कारको निर्णय गरेको हो । 

यस अघि शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट निबन्धकार कृष्णचन्द्रसिंह प्रधान, प्रा डा दुर्गाप्रसाद भण्डारी, डा ताना शर्मा र श्यामप्रसाद शर्मा सम्मानित भइसक्नुभएको छ भने शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकार श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे र भीष्म उप्रेती सम्मानित हुनु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी चैत ५ गते अक्षर शिरोमणि मदनमणि दीक्षितको अभिनन्दन गर्ने निर्णय समेत गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!