अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा पनि दिन्नँ’

Posted on: 21 Feb, 2018

फागुन ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरेका छन्।


आजको नयाँ पत्रिकाले कट्टेलको भनाई छापेको छ। हेर्नुहोस् के भन्छन् पार्टीको नामबारे उनी

— नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु ।

उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।

हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ ।

०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुईवटा पार्टी दर्ता हुन नसक्ने बताए । ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले नयाँ पत्रिकासँग भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यासलगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!