तालिम लिएकालाई सिलाई मेसिन निशुल्क

Posted on: 21 Jan, 2016

माघ ७, मकवानपुर । नारी संरक्षण केन्द्र हेटौंडाले प्रदान गरेको ६ महिने शिपमूलक सिलाई कटाई तालिम लिएका १३ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । तालिम समापनका अवसरमा आज सिलाई मेसीन सहयोग गरिएको केन्द्रका उपाध्यक्ष दीपा राईले बताउनुभयो ।

सिलाई कटाई तालिममा मकवानपुरको हेटौंडा उपमहानगर तथा विभिन्न गाउँका विपन्न महिलाहरुको सहभागिता थियो । कार्यक्रममा कार्यक्रम संयोजक राम मिजार, अमेरिकीन स्वयम्सेवक जेनीफर स्चाउर, संस्थाका लेखापाल प्रतिकला देव लगायतको आतिथ्यता रहेको थियो । तालिम लिएका दुई जनाका लागि टेलर्स सञ्चालनका लागि ५० प्रतिशत लगानी समेत गरिदिएको छ । केन्द्रको आयोजनामा आजैबाट ६ महिने सिलाइ कलाई सम्बन्धि अर्को तालिम पनि सुरु गरेको छ । तालिममा हेटौंडा तथा मकवानपुरका विभिन्न क्षेत्रका आर्थिक रुपमा विपन्न महिलाहरुको सहभागिता रहेको छ । केन्द्रले हालसम्म ८० जना विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाइ कटाई तालिम प्रदान गरेको छ ।

संस्थाले सर्कसबाट फर्किएका, एचआइभी प्रभावित, विपन्न अवस्थाका महिलाहरुका लागि शिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ । यस्तै, २५ जना बालबालिकालाई आवाससहित संरक्षण प्रदान गरिरहेको छ भने २० जना अन्य बालबालिकालाई अध्ययनका लागि सहयोग गरिरहेको केन्द्रका उपाध्यक्ष राईले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!