टावरका कारण बर्षौ देखि चट्याङको त्रासमा जिउन बाध्य पर्वतको फलामखानी बासी

Posted on: 17 Aug, 2017

पर्वत÷जव आकासमा कालो बादल मडारिँदै गड्याङ्गुडुङ गर्न थाल्छ, तव फलामखानी गढीका ८ घरधुरीको मुटुले ठाउँ छोडिसकेको हुन्छ । चट्याङको आवाज आउन थालेपछि हतार–हतार विजुलीको मिटर बक्स बन्द गर्न पुग्छन् उनीहरु । यो पत्याउनै अफ्ठयारो लाग्ने वास्तविक घटना हो पर्वत जिल्ला महाशिला गाउँपालिका वडा नं. ६, फलामखानी, गढीगाउँको । दलित, त्यसैमा पनि अति विपन्न बस्ती रहेको सो गढीडाँडामा यसरी सताउन थालेको लगभग ३ वर्ष पुग्न थाल्यो । तर उनीहरुको यो क्रन्दनलाई हालसम्म कसैले सम्बोधन गर्न सकेको छैन । ‘राज्यलाई हारगुहार गर्दा समेत हाम्रो आवाज सुनेको छैन’ स्थानीय हरिमाया विक भन्छिन् –‘हाम्रो न त जाने ठाउँ छ, न त ढुक्कसँग बस्ने ओत नै ।’ विजुली चम्केर आकास गर्जदा भाग्नुपर्ने यहाँको बाध्यताको अझैसम्म कहिँकतैबाट सम्बोधन हुन सकेको छैन ।

साना नानीबाबु काखी च्यापेर ज्यान जोगाउनकै लागी हरिमया विक कयन् पटक तल्लो बस्ती भागेको स्मरण गर्छिन् । अहिले आकाश गज्र्यो कि घर बाहिर निस्कनुपर्छ भन्ने कुरामा स–साना बालबच्चाहरु समेत अभ्यस्त बनिसकेका छन् । ‘व्यूँझदा त भागिएला तर रातविरात आउने चट्याङको जौजकी भने हामीमा यथावतै छ । वर्षाको समयमा रातमा सुतिरहेका हामी विहान उठ्दा जिउँदा भइने हो वा होइन केही ठेगान छैन’ स्थानीय चन्द्र बहादुर विक भन्छन्–‘गढी डाँडामा निर्माण भएको टावर अर्थिङका काण वस्ती जोखिममा परेको हो ।’ गढीडाँडामा एनसेल र स्मार्टको टावर निर्माण गरेपछि आफूहरु जोखिममा परेको स्थानीयहरुको आरोप रहेको छ । वस्तीमा रहेका वुढापाकाहरु घर छोडेर कहाँ जाउन् ? सहजै हिँडडुल गर्न नसक्ने वृद्धवृद्धाहरु दौडादौड कसरी गर्न सकून ? तर यो त्रासदी निमिट्यान्न पार्ने अर्को कुनै विकल्प पनि छैन उनीहसँग ।

‘हामीलाई दैव लागे झैं भयो, अन्त कता सरौं, जग्गा जमिन छैन, भएकाको पनि घर बनाउने उपाय छैन । मरे यही थलोमा मरिएला वाँचे वाँचिएला भनेर मुटु कपाउँदै बस्ने गरेको वर्षौ भैसक्यो’ फलामखानी गढी निवासी हिमलाल विक भन्छन् । उनी एक महिना अघि चट्याङ् लागेर वेहोस् समेत भएका थिए । चट्याङकै कारण २ वर्ष अगाडी स्थानीय सर्वजित विकको ज्यान गइसकेको छ भने गतवर्ष धन कुमारी थापाको समेत सोही कारण ज्यान गएको छ । चट्याङ्कै कारण दर्जनौ मानिस घाइते भएर वसेका छन् त केही यो त्रासदीबाट मुक्ति पाउन पुर्खेउली थलो छाडेर विस्थापित जीवन विताउन बाध्य भएका छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं ६ फलामखानी गढी डाँडा कुनै वेला हावाबाट विजुली निकालेर त कुनैवेला चिया वगानको स्थापना भएकै कारण जिल्लामा चर्चा कमाएको ठाउँ हो । त्यतिबेलासम्म यो वस्तीमा चट्याङको कुनै जोखिम नभएको फलामखानीडाँडा निवासी स्थानीयहरुको भनाई रहेको छ । संचार क्षेत्रमा भएको विकास सँगै यो गाउँ पनि अछुतो रहन सकेन । गढी वस्तीमा जव एनसेल र स्मार्ट फोनका टावर ठडिए, त्यतिनैबेलादेखि लगातार चट्याङ्ले होसहवास लान थालेको स्थानीयहरुको आरोप रहेको छ । चट्याङ्कै कारण दुवै कम्पनीका टावरहरु हाल ध्वस्त अवस्थामा छन् । स्थानीयहरु यिनै टावरको अर्थिङ अव्यवस्थित भएका कारण आफूहरु जोखिममा परेको र धेरैले ज्यान समेत गुमाउनु परेको आरोप लगाएका छन् । स्थानीयहरुले टावरकै कारण वस्ती जोखिममा रहेको कुरा जिल्लास्थित सरकारी निकायलाई समेत अवगत गराएको बताउँछन् ।

उनीहरुले केही महिना अगाडि सर्वसाधारणको वस्ती जोखिमा पार्ने गरी टावर राखेको भन्दै एनसेलको गाडी समेत तोडफोड गरेका थिए । चट्याङ पर्न थालेपछी आगोको ज्वाला जस्तो करेन्ट घरभित्र नै पस्ने, मिटरवक्स आगालागी हुने, घरका दलान र खामा चिरिने तथा मान्छेलाई बेहोस पार्ने घटना यो वस्तीमा सामान्य जस्तै लाग्न थालेको छ । ‘आफ्नो घरमा वस्न पनि सुरक्षित छैनौँ, कहाँ जाने ? कसलाई उजुरी गर्ने ? जसलाई भने पनि न्याय पाउन सकिएन ।’ फलामखानी निवासी लक्ष्मण सुनार गुनासो गर्छन् । ‘हामी घरभित्र बसेको वेला चट्याङ भित्रै पसेर घरको दलान चिर्यो र ७० वर्र्षिया आमा ठाउँको ठाउँ ढल्नुभयो, हामीले आशा मारेका थियौं तर एकछिनपछि होसमा आउनुभयो’ विगत स्मरण गर्दै स्थानीय पे्रम वहादुर विकेले दुखेसो पोखे ।

एनसेल र स्टार्ट टावरको अर्थिङ व्यवस्थित नभएकै कारण आफूहरुको वस्ती जोखिमा परेको र केही छिमेकीहरुले ज्यान गुमाउनु परेको तथा केही घाइते हुनुपरेको भन्दै ८ घरपरिवारले वस्ती छाडिसकेका छन् । समुन्द्र सतहवाट करिव २ हजार ५ सयदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यो डाँडामा टावर राख्नु अगाडि कोही पनि चट्याङ लागेर ज्यान गुमाएका वा घाइते भएका थिएनन् । जव ठूला ठूला टावरहरु खडा गरिए त्यसपछि डाँडाको वस्तीमा जोखिम बढेको उनीहरुको दावी छ । यस क्षेत्रमा पर्याप्त मात्रमा फलामखानी रहेको र सोही कारण जमिन माथि करेन्ट प्रवाह हुने भएकाले बढी चट्याङ परेको हुनसक्ने अनुमान जिल्लास्थित सरोकारवाला निकायको रहेको छ । तर यो तर्क मान्न स्थानीय तयार छैनन् ।

उनीहरुले टावर नहुञ्जेल वस्तीमा केही पनि नभएको र टावर राखेपछि मात्रै चट्याङका घटना दोहोरिने गरेको आरोप लगाएका छन् । स्थानीयबासीको आरोपका विषयमा एनसेलका धौलागिरी प्राविधिक केशव भट्टसँग जिज्ञासा राख्दा टावर स्थापना गर्दा अर्थिङ राख्ने क्रममा त्रुटी भएको स्वीकार गरे । उनले हाल विज्ञ टोलीबाट नेपालमै उच्चस्तरको अर्थिङ गरिएको र टावर संचालनका लागि स्थानीयसँग छलफल गरिएको भएपनि टुंगोमा पुग्न नसकेको जानकारी दिए । उनले त्रुटी रहित ढंगबाट पुनः टावर संचालन गर्न खोजिए पनि स्थानीयसँग सहमति हुन नसकेका कारण काम रोकिएको बताए । महाशिला गाउँपालिका वडा नं. ६,फलामखानीका वडा अध्यक्ष रामबहादुर सुनारले टावर अर्थिङमा कमजोरी भएकै कारण वस्ती जोखिममा परेको स्वीकार गरे ।

उनले भने–‘यहाँ टावरकै कारण धेरै घटना घटे । आगामी दिनमा विज्ञ टोलीको समन्वयमा टावर खडा गरी सोही अनुसार अर्थिङ गर्न वस्तीलाई जोखिममुक्त बनाउन आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायमा समन्वय गर्न र वडाबासीको त्रासदीलाई सम्बोधन गर्न वडा कार्यालय तयार छ ।’  

यस बिषयमा तपाइको प्रतिक्रिया...!