महोत्तरीमा बसको ठक्करले एक जनाको मृत्यु

Posted on: 29 Apr, 2019

 वैशाख १६, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना ५ ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ स्थित सडकमा विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री मुखियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् शव प्रहरीले परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 

महोत्तरीका ११ वटा सीमानाका शिल 

भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शिल गरिएको छ । भारतको विहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्लामा आज भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आइतबार साँझ ५ बजेदेखि आज साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका शिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।   

अहिले सीमानाकामा नेपाल भारत दुवैतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!