जब एक पुरुष मोबाइललाई शहीद बनाउँदै आफु बाँचे !

Posted on: 18 Mar, 2019

काठमाडौं | अष्ट्रेलियामा एक पुरुषले आफ्नो मोबाइललाई दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे ।

आफ्नो घरबाहिर एकजना मानिसले हानेको वाणबाट उनको मोबाइलले उनलाई जोगायो । आक्रमणकारीले हानेको वाण संयोगवस उनको मोबाइल फोनमा ठोक्कियो । वाणले मोबाइल फोनलाई छेड्यो र त्यहीँ अड्कियो । जसका कारण वाण उनको अनुहारमा पर्न पाएन ।

अष्ट्रेलियाको ब्रिसबेन भन्दा ९३ माइल दक्षिणमा पर्ने निम्बिन सहरमा यो घटना भएको हो । ४३ वर्षका ती मानिस बुधबार आफ्नो घरमा आउन लागेको पाहुनालाई पर्खिएर घरबाहिर उभिइरहेका थिए । त्यसक्रममा उनले सडकमै वाण बोकेर हिडिरहेको एकजना मानिसको फोटो खिच्न थाले आफ्नो मोबाइल फोनबाट । सायद त्यसरी फोटो खिचिँदा त्यो वाणधारी रिसायो । उसले फोटो खिच्ने मानिसतर्फ ताकेर वाण हान्यो । उसले हानेको वाण फोटो खिचिरहेको मोबाइलमा गएर ठोक्कियो । जोडसँग आएको वाण मोबाइलको वारपार भयो । मोबाइल फोन उनको चिउँडोमा गएर ठोक्कियो जसका कारण वाणको चुच्चोले उनको चिउँडोमा सामान्य घाउसमेत बनायो ।

मोबाइललाई शहीद बनाउने गरी वाण प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!