वैदेशिक रोजगारीमा जानेहरुले अब अनलाइनबाटै श्रम गर्न यसरी फारम भर्नुस ?

Posted on: 25 Nov, 2016

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अब श्रम इजाजत लिन लाइनमा बस्नुपर्ने बाध्यता नहुने भएको छ । सरकारले श्रम लिनको लागि रातभरि पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइनबाटै फारम भर्न सकिने नयाँ सुरुवात गर्न लागेको हो ।

यो काम सफल भएमा म्यानपावर मार्फत हुने श्रम पनि अनलाइन नै बनाउने तयारी छ । अनलाइनबाट सबै प्रक्रिया टुंगिएपछि मात्रै श्रम स्वीकृतिको स्टीकर लिनको लागि कामदारहरुले आफ्नो पासपोर्ट बोकेर बैदेशिक रोजगार विभाग ताहाचल जाँदा हुन्छ ।

बैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम लिने क्रममा दलालहरुले मोटो रकम अशुल गर्ने गरेको भन्दै अबको कदमले व्यक्तिगत श्रम लिनेलाई सहज हुने बिभागको बिश्वास छ । 

विभागले यो सिस्टमलाई 'फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम' नाम दिएको छ । यो सिस्टम अनुसार व्यक्तिगत श्रम स्वीकृति लिनेले सुरुमा फारम भर्नुपर्ने हुन्छ । यो निकै सजिलो प्रक्रिया हो, अनलाइन चलाउन नजान्नेहरुले साइबर तथा अनलाइन जानेकाहरु मार्फत सजिलै आफ्नो व्यक्ति गत डाटा भर्न सक्नेछन् ।

जसमा बिशेष गरि आफ्नो पासपोर्टमा भए अनुसारको नाम, ठेगाना, फारममा मागिएका अन्य विवरणहरु (पासपोर्ट अनुसार) लगायत डिटेल आवश्यक पर्छ । फेसबुक वा जीमेल आइडी बनाएजस्तै अनलाइन भर्नेले यो सिस्टममा आफ्नो आइडी बनाउछ र पछि आफुलाई आवश्यक परेका वा बिभागले थप विवरण मागेको अवस्थामा अन्य विवरण समेत आफ्नो पहिलेनै बनाएको आइडी र पासवर्ड मार्फत 'लग इन' गर्नुपर्छ । 

कसरी भर्ने फारम ?

- सुरुमा आफ्नो आइडी बनाउनुपर्छ । आइडी बनाउन फेसबुक वा गुगलमा आइडी बनाएजतिकै सजिलो हुन्छ । 

- आफ्नो आइडी बनेपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा भर्नुपर्छ साथै आवश्यक डकुमेन्टहरु त्यहि फारममा अपलोड गर्नुपर्छ । 

- अब तपाइले भरेको डाटा अनुसार बैदेशिक रोजगार विभागले तपाइँ कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण अध्ययन गर्छ । यदी तपाइले भरेको सबै ठिक छ भने अब विभागले तपाइको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । यदी तपाइको अनलाइन फारम स्वीकृत भएमा अब तपाइले इमेल पाउनुहुनेछ । अन्यथा बिभागले तपाईलाई अरु डकुमेन्ट थप्नुपर्ने भएमा त्यसको जानकारी पनि इमेलमै पठाउनेछ । फेरी आफ्नो डकुमेन्ट तपाइले आफ्नो पहिलेकै आइडी मार्फत पठाउन सक्नुहुनेछ । 

- श्रमको लागि एप्रोभ भएका तपाईले अब बैंकमा तोकिएको शुल्क जम्मा गर्नुपर्ने हुन्छ । पैसा तिर्नको लागि तपाइँ नेपालभरकै ठूला बाणिज्य बैंकका जुनसुकै शाखा प्रयोग गर्न सकिन्छ ।

- त्यसपछि विदेश जानु अघि लिनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ, त्यहाँ तपाईले  विद्युतीय प्रणालीबाट आफ्नो ल्याप्चे लगाएपछी मेडिकलका लागि जानुपर्ने हुन्छ । 

- यदी तपाइ मेडिकल फिट हुनुहुन्छ भने अब तपाइको मेडिकल रिपोर्ट बुझाउन पनि तपाईले कुनै दु:ख गर्नुपर्दैन । मेडिकल गरेको ठाउँबाटै तपाइको रिपोर्ट बिभागले पाईसकेको हुन्छ ।

- त्यस्तै तपाइले गरेको बिमाको रेकर्ड पनि बिमा कम्पनीबाट सिधै सरकारले पाउँछ ।

- अब भने तपाइको सबै प्रक्रिया पुग्यो, अब तपाइले इमेल पाउनुहुनेछ । तपाइको सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि तपाइँ अब आफ्नो पासपोर्ट लिएर बैदेशिक रोजगार बिभाग जानुपर्छ । 

- बिभागबाट श्रम अधिकारीले तपाइको पासपोर्टमा श्रम स्वीकृति भएको स्टीकर टाँसिदिनेछन् । 

अब तपाइँ टिकट काटेर आफुले जान लागेको देशको लागि जान तयार हुनुभयो । यदी माथिका कुनैपनि प्रक्रियामा असहज भएमा तपाइले सिधै बैदेशिक रोजगार विभागसँग सहयोग समेत माग्न सक्नुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!