असार १६, पोखरा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको काम नारोक्कीने बरु थप तीव्रता पाउने बताएका छन् ।

शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरूपमा खडा भएको र कुनै पनि सम्झौता नहुने बताए ।

भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताए ।

प्रधानमन्त्रीले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ ।’ अहिले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताए ।

उनले भने, ‘भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’

पारवहन सन्धि पुनरावलोकन, विद्युत् व्यापार सम्झौता भारत भ्रमणका महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

आफूले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको दाबी गर्दै प्रचण्डले छिट्टै चीनको भ्रमण गर्ने गरी तयारी भइरहेको बताए ।

चीन भ्रमणमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए ।उनले भने एयर रुटका विषयमा भारतसँग कुरा भइरहेको र चीनमा पनि यो विषयमा छलफल हुने ।

उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी समेत गरे । उनले भने, ‘यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।’

Related News