कार्तिक २४, काठमाडौँ | मुगुमा भएको सामूहिक हत्या प्रकरणका एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको समेत हत्या गरेको बयान दिएका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका गोपाल बोहोराले आफूहरु योजनाका साथ हत्या र लुटपाट गर्ने गरी मृतकको घरमा पुगेको बयान दिएका छन् । प्रहरी श्रोतका अनुसार गोपाल र उनका साथी काले भन्ने गोर्खराज शाही ठकुरीले पहिले नै योजना बनाएर श्रीदेवीको हत्या गरी लुटपाट गरेका हुन् । पूर्व योजनाअनुसार गोपाल र गोर्खराज कात्तिक ८ गते राती साँझ साढे ८ बजे मृतकको घरमा पुगेका थिए । दिदी, दिदी भनी गोपालले मृतकलाई बोलाएपछि मृतकले ढोका खोलेकी थिइन् । त्यसपछि मृतकको खाना खायौ कि छैन भनेर सोधेको समेत खुलेको छ ।

त्यसपछि केही समय कुराकानी गरेपछि आरोपितहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । आरोपितहरु घरमा पुग्दा ठूला भएका छोरीहरुले देखेका कारण पोल खुल्ने डरले उनीहरुको समेत हत्या गरेको र सबैको हत्यापछि सानो बच्चा रोएकाले उक्त बालकको पनि हत्या गरेको बयान दिएका छन् । हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर आरोपितहरु फरार भएका थिए । आरोपित गोपाल बोहोरा उक्त रात आफ्नै घरमा सुतेको भएपनि अर्का आरोपित गोर्खाराज शाही ठकुरी भने सोही रात हिँड्दै जुम्ला पुगेको र जुम्लाबाट बस चढेर सुर्खेत पुगेका थिए । सुर्खेतमा एकरात बसी त्यहाँबाट नेपालगञ्ज आएर लुटिएको सुन आरोपितले बेचेका थिए ।