माघ ४, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ ।

हरेक साता सुरक्षाकर्मीले निगरानीमा राख्ने गरेको भए पनि त्यसको पुनःनिर्माणमा राज्यले ध्यान नदिँदा सीमा विवाद कायम रहेको स्थानीयवासी हंसबहादुर पालले बताउनुभयो । उहाँका अनुसार बाढीले बगाएको सीमास्तम्भ करिब सय मिटर वर नेपालतर्फ पुगेको छ । “सीमास्तम्भ बालुवाले पुरिने अवस्थामा आइपुग्दा पनि वास्ता भएन”, उहाँले भन्नुभयो, “सीमा पिल्लर ढलेका कारण भारतीय पक्षले किचलो गरिरहन्छन् ।”

उहाँले स्थानीय प्रशासनको पहलमा भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताउनुभयो । “महाकाली नदी किनारसम्म नेपालीको बसोबास हुँदा हामीलाई सीमा ढलेको चिन्ता छ”, स्थानीयवासी पदमसिंह कार्कीले भन्नुभयो, “छिमेकी मुलुकको हेपाहा प्रवृतिले त्रसित र सचेत पनि छौँ ।” ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनारहुँदै भीमदत्त–११ भुजेलासम्म पाँच मुख्य सीमास्तम्भ नै छैनन् ।

त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकालीमा मुख्य सीमा स्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ । स्थानीयवासी र सशस्त्र प्रहरी बलको भनाइअनुसार उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्ध भन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ । भारतीय पक्षले भने महाकाली नदीको तटबन्ध भन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ ।

सोही क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने क्रममा विवाद भएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो ।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा सीमा विवाद भई रहन्छ ।

यस्तै बेलौरी–१० सडकघाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई हिँडडुल गर्न रोक लगाएको थियो । शनिबार दुई पक्षबीचको सहमतिमा हिँडडुल गर्न दिए पनि विवाद भने बेलाबेलामा आइरहने गरेको छ । सीमास्तम्भ नं ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमन गर्न नदिएपछि नेपाली र भारतीय दुवै तर्फका किसानले लगाएको उखु, तोरीसहितका अन्नबाली खेतमै सुक्न थालेपछि विवाद बढेको थियो ।

दुवै देशका नागरिकले विगत चार दशकदेखि प्रयोग गर्दै आएको सडकमा एकाएक भारतीय एसएसबीले अवरोध गरेपछि किसानले लगाएको उखु, तोरीलगायतका अन्नबाली खेतमै सुक्ने अवस्था आएको वडाध्यक्ष हरिलाल चौधरीले बताउनुभयो ।

स्ट्रिप नक्शामा भने नेपाली भूमि झण्डै १५० मिटर दक्षिण भारततिर पर्ने बताइएको छ । स्थानीय तहका जनप्रतिनिधि र भारतीय सुरक्षाकर्मीबीच समन्वय हुँदा अन्नबाली भित्र्याउन दिइएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो । “एसएसबीले नेपालीको खेती दश दिनसम्म भित्र्याउन दिएन”, उहाँले भन्नुभयो, “पछि भारतीयलाई बोलाएर छलफल गरी तत्कालको समाधान खोज्यौं ।”

त्यसैगरी बेलौरी–८ मा निर्माणाधीन हुलाकी सडकखण्डको एक हजार २०० मिटर सडक भारतीय पक्षले सीमामा पर्ने भन्दै निर्माणमा अवरोध गर्दै आएको छ । उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ नं ३८ मा विगत दुई वर्षदेखि भारतीय अवरोधका कारण कालोपत्र रोकिएको वडाध्यक्ष नन्दकुमार रानाले बताउनुभयो ।

“निर्माण कम्पनीले सडक कालोपत्र गर्न आवश्यक सामग्री छाडेर गएको छ”, वडाध्यक्ष रानाले भन्नुभयो, “भारतले निर्माण गर्न खोज्दा पटकपटक अवरोध गरेको छ ।” उहाँले उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ ३८ देखि ४२ नंसम्म भारतीय पक्षले लामो समयदेखि सीमा विवाद गर्दै आएको बताउनुभयो । “सीमा पिल्लरबाट करिब १५ मिटर वर नेपालतर्फसम्म भारतले उल्टै आफ्नो दाबी गर्छ”, उहाँले भन्नुभयो ।