जेठ २, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. अभियन्ता निकोलास भुसालले गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेकाछन् ।
सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गरेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्ने समेत बताएका थिए ।
उनै भुसाल आज रविलाई भेट्न गृह मन्त्रालय पुगे । मन्त्रालयको मूल ढोकामै रविसँग उनको भेट भएको थियो ।
रवि आउनासाथ हात मिलाएर उनले भने, ‘सरी दाइ, आवेशमा आएर बढी बोलेँ ।’
रविले किन सरी ? के भयो र ? भनी सोधे ।
निकोलसले भने, ‘आफ्नो दाइ हुँदा हुँदै हिरासतमा परियो । त्यसमा अलिकति दुख लाग्या छ ।’
रविले भने, ‘प्रहरीले आफ्नो काम गर्छ । मैले देशैभरिका प्रहरीलाई यो गर यो नगर भन्न मिल्दैन । नचाहिने चिज नगर्नुस् मात्र मैले भन्ने हो । केही छैन । अन्यायका विरुद्ध बोल्नुस् । आवेग उत्तेजना नदेखाउनुस् है ।’
रविलाई भेटेपछि निकोलसले पत्रकारसँग कुरा गर्दै रविलाई ‘युवाहरूका आशा र भरोसा’ भन्दै प्रशंसा समेत गरे ।
‘कहिलेकाहीँ आफ्नै दाजुभाइमा पनि झगडा हुन्छ । मैले चाहिनेभन्दा धेरै कुरा भनेछु । सन्दीप लामिछानेले पनि न्याय नपाउँदा फ्रस्टेसन थियो । अझ हामीलाई नै हिरासतमा राख्दा गृह मन्त्रालयकै साजिस त होइन भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ,’ उनले भने ।