साउन २५, नयाँ दिल्ली (रासस/एएफपी) | भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् ।
बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ । केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामिण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।
“केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ । केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू पनि बाढीका कारण सडकहरू अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका बताइएको छ,” प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपीलाई बताउनुभयो ।


भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि बर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी छ ।
सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति आपतकालिन राहत केन्द्र (शिविर) मा पुगेका बताइएको छ । केरलाका करिब ८० स्थानमा बर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन, प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए ।
बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
यस्तै प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन आग्रह गर्नुभएको छ । प्रहरी प्रवक्ता कका अनुसारमा एक स्थानमा करिब २०० जना फसेको सूचनापछि प्रहरीले उनीहरूसँग हेलिकोप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ ।
केरलामा गत बर्ष आएको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु भएको थियो ।


