सिमिकोट गाउँपालिकामा ३४ करोड २३ लाखको निती तथा कार्यक्रम सार्वजनिक

Posted on: 24 Jun, 2018

रेशमराज रोकाया | असार १०, हुम्ला | हुम्लाका ७ वटा गाउँपालिका मध्ये सिमिकोट गाउँपालिकाले आज एक कार्यक्रमको विचमा ३४ करोडको अनुमानित निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले सरकारले दिएको मितिलाई समेट्न सकेको छैन । निती तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष बली रावतले गाउँपालिकाको पर्यटन, कृषि, सडक निर्माण, शिक्षा र स्वास्थ्यमा निती तथा कार्यक्रमले जोड दिएको छ । 

कृषि तर्फ गाँउपालिकाको प्रख्यात बालीहरु स्याउ, ओखर, केरा, सिमी, फापर, मह, चिनो, कागुना, आलु लगायतका फलफुल तथा तरकारी औषधिजन्य जडिबुटीहरुको उत्पादन बृद्धि गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छ । उन्नत जातको पशुपालनका लागि नश्ल सुधार तथा कृतिम गर्भाधारण कार्यक्रममा जोड दिदै बाख्रा भेडा च्याङग्रापालन मौरीपालन तथा माछापालन व्यवसायलाई प्रोत्साहन गरिने कार्यक्रम तय गरेको छ ।

स्थानिय जडिबुटी तथा कृषि उत्पादनमा आधारित साना तथा घरेलु उद्योगहरुको विकासलाई प्राथमिकता दिइने लक्ष्य राखिएको छ ।


स्थानिय उत्पादनमा आधारित सामानहरुको बजार सुनिश्चित गर्न पहल गरिनेछ । गाँउपालिकाका सम्भाव्य पर्यटकिय स्थलहरुको पहिचान, संभाव्यता अध्ययन, वृतचित्र निर्माण तथा विकास गरी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरिनेछ ।

पर्यटकिय गन्तव्यको रुपमा रहेको मानसरोवर कैलाश दर्शनमा आउने पर्यटकहरुको ट्रान्जिट स्थल सिमकोट गाँउपालिका रहेको हुँदा ती पर्यटकहरुको यस गाँउपालिकामा बसाई लम्ब्याउन गाउँपालिका भित्रका पर्यटकिय स्थलहरु खार्पुनाथ मन्दिर, शिब मन्दिर, रलिङ तिर्थ, पञ्चमुखी हिमाल, दुधेदह, लडे दह लगायतको थप विकास, विस्तार र सुधारमा बजेटको विनियोजन गरिएको छ । सिमकोट गाँउपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न भौतिक तथा प्राविधिक सुविधाको विस्तार गरिनेछ । गाँउपालिकाका गरिब छात्राछात्रहरुलाई प्राविधिक तथा उच्च शिक्षाका लागि उचित छात्रवृतिका लागि पहल गरिने समेत महत्वकाँछी बजेट सार्वजनिक भएको छ । विद्यार्थी शिक्षक अनुपात हेरी विभिन्न कानुनहरुको व्यवस्था गरी आन्तरिक स्रोतबाट अनुदान दिने व्यवस्था समेत मिलाउने जनाईएको छ ।

गाउँपालिका भित्र रहेका आयुर्वेदालय ,स्वास्थ्य चौकी  वा उपस्वास्थ्य चौकीहरु सुचारु रुपले संचालन गर्न व्यवस्थापनका सम्पूर्ण पक्षहरुमा विशेष ध्यान दिइ स्वास्थ सम्बन्धी देखिने विभिन्न प्रकोप नियन्त्रणको लागि प्रकोप व्यवस्थापन कोष खडा गरिनेछ । सफा र स्वच्छ सिमकोट गाँउपालिका निर्माणको लागि यहाँवाट निस्कने फोहरमैलाहरुको उचित व्यवस्थापन गर्नुपर्ने हुँदा उपयुक्त डम्पिङ साईट तथा ल्याण्डफिल्ड साईडको निर्माण तथा व्यवस्थित संचालनमा विशेष जोड दिनको लागि कार्यक्रम सार्वजनिक गरिएको छ । 

कुल विनियोजन मध्ये चालुतर्फ २१ करोड ३६ लाख ६५ हजार र पुँजीगत तर्फ १२ करोड ८५ लाख ४६ हजार रकम विनियोजन गरिएको छ ।  

एक घर एक बगैँचा  कार्यक्रम अन्तरगत १० हजार स्याउको बोट रोप्ने, उत्पादित फलफुल तथा अन्नबालीहरुलाई बैज्ञानिक संरक्षण गरी प्रतिफल बढाउन एक कोल्ड स्टोर निर्माणको  लागि २५ लाख रकमको विनियोजन भएको छ । फलफुलबाट आत्मनिर्भर रहने गरी स्याउलाई राष्ट्रिय स्तरमा निकाशी गर्नको लागि समेत वजेटले सम्वोधन गरेको छ । शिक्षा सम्वन्धी समस्या समाधानको लागि ६६ लाख २० हजार वजेट छुट्ट्याईएको छ । खानेपानी तथा सरसफाई, संस्कृती प्रवद्र्धन र खेलकुद तथा मनोरञ्जनमा ५७ लाख वजेट विनियोजन भएको छ । पूर्वाधार विकासको लागि ५ करोड ८ लाख ७० हजार रकमको व्यवस्था गरिएको छ । जस मध्ये अधिकाँश रकम सडक निर्मँणको लागि जोड दिइएको छ । वातावरण तथा विपद व्यवस्थापनको लागि १ करोड ३२ लाख ८० हजार बजेटको लागि विनियोजन भएको छ । संस्थागत विकास सेवा प्रवाह र सुशासन विकासको लागि २ करोड ३७ लाख १० हजार, जलवायु समानुकुलनको लागि १ करोड वजेटको सार्वजनिक गरिएको छ । चालु शिर्षकबाट कर्मचारी र पदाधिकारीलाई नमुना शहर तथा नमुना स्थानिय तह भ्रमण कार्यक्रम, अगुवा कृषक भ्रमणको लागि समेत बजेट विनियोजन भएको छ । 

वजेटको स्रोत भने आन्तरिक राजस्वबाट १ करोड १ लाख १८ हजार, संघिय प्रदेश सरकारबाट आउने वित्तिय समानीकरण अनुदान ९ करोड २ खाल १६ हजार, संघिय सरकारबाट शशर्त अनुदान स्वरुप प्राप्त हुने १४ करोड ८८ लाख, प्रदेश सरकारबाट राजस्व बाँडफाँटमा प्राप्त हुने ५ करोड ५७ लाख २१ हजार, गत वर्षको बचत रकम १ करोड ५५ लाख रकम रहेको समेत जानकारी गराईएको छ । हुम्लाका अधिकाँश गाउँपालिकाको बजेटको स्रोत भने प्रदेश र केन्द्रिय सरकारमा निर्भर रहने अवस्था रहेको छ । यहाँका साधन स्रोतको लागि कुनै पनि उपयोग गर्न नसकिँदा राजश्व संकलनमा वृद्धी हुन नसकिरहेको अवस्था छ । हाल यस प्रदेशका स्थानिय तह आत्मनिर्भर हुनको लागि अझै समय लाग्ने जसको लागि मोटरबाटो र विद्युतिकरण मूख्य समस्याको रुपमा देखिएका छन् । 

माथिको तश्विरमा: सिमकोट गाउँपालिकाद्धारा आर्थिक वर्ष ०७५।०७६को निती तथा कार्यक्रम सार्वजनिक गरिँदै । तश्विर: रेशमराज रोकाया 

यस बिषयमा तपाइको प्रतिक्रिया...!