नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

Posted on: 16 Jun, 2020

असार २, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ । 

दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ । ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

 ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताउनुभयो । प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउन सक्ने जनाइएको छ ।

 सूचना अधिकारी खनालले भित्तोपट्टिको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिनुभयो । यसबाट दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । वर्षात्मा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भइरहेको छ । चार किलोबाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले जानकारी दिनुभयो । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । यहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्दछन् ।  

एघार महिनामा २६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् ।

 निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन् । मर्नेमा धेरै बच्चा रहेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको यसै अवधिमा  निकुञ्ज क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा गरी ४३ गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको छ । पछिल्ला वर्षमा चोरी शिकारीका कारण गैँडा मर्न पाएका छैनन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!