पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग

Posted on: 20 Jun, 2020

असार ६, चितवन। जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभाग अन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज वनाउने भएको छ । उहाँका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ । आगामी वर्षका लागि रु. तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर  छ । विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ । महानगरको सबैभन्दा लामो सडक यही हो । महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन–३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताउनुभयो । 

प्रमुख दाहालले अव उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताउनुभयो । पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाइ थियो । सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उहाँले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताउनुभयो । जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उहाँले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताउनुभयो । सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनविन्दु हो । जहाँ सूर्यास्तसँगै वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!