अर्थमन्त्रीका सल्लाहकार भन्छन् : अब पुँजीगत खर्च बढ्छ

Posted on: 21 Dec, 2021

पुस ६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुस महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन्। वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रूपमा काम भइरहेको उनले बताए।

सोही अनुरूप नै प्रणालीमा ५० अर्ब थपिने हिसाबले स्थानीय तहमा जाने पैसाको ८०% प्रतिशतसम्म निक्षेपको रूपमा गणना गर्न दिने निर्णय गरिएको उप्रेतीले बताए। ‘सबै मन्त्रालयहरुसँग छलफल र अन्तरक्रिया भइरहेको छ। पुस महिना सकिदा नसकिँदै आश्चर्यजनक रूपमा पुँजीगत खर्च वृद्धि हुनेछ। अर्थ मन्त्रालयको यो प्रयासमा सरोकारवाला सबै साथीहरूले साथ दिने वचन दिनुभएको छ,’ उनले भने।

यसअघि अर्थमन्त्रीले सेयर बजारबारे लगानीकर्ताका प्रतिनिधिहरूसँग भेट गरी भएका समस्याहरू समाधान गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका थिए। अर्थसंसारसँगको कुराकानीमा उप्रेतीले भनेका छन्, ‘अर्थ मन्त्रालय निकै गम्भीर रूपमा पुँजीगत खर्च बढाउन लागिपरेको छ। यो पुस मसान्त यस अघिका पुस मसान्तहरू भन्दा फरक हुनेछ। सरकारी खातामा कर राजस्वको रूपमा जम्मा हुने भन्दा कयौं गुणा बढी पैसा बजारमा पठाइने छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!