प्रस्तावित स्थानीय निकायको वडा विभाजन सुरु

Posted on: 04 Sep, 2016

 प्रकाश धौलाकोटी । भदौ १९, तेह्रथुम । तेह्रथुममा स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तावित स्थानीय निकायको वडा विभाजन थालेको छ । समितिले शनिबार सिम्लेको पोक्लाबाङमा स्थानीयसँगको छलफल कार्यक्रम राखेर फेदाप गाउँपालिकाको वडा विभाजन समेत सर्वसहमतिले गरेको छ ।

प्रस्तावित फेदाप गाउँपालिकामा पर्ने सम्दु, ईसिवु, सिम्ले, जलजले र ओयाक्जुङ गाविसका राजनीतिक दल, नागरिक समाज, वडा नागरिक मञ्चका संयोजक, पुर्वजनप्रतिनिधि, शिक्षक लगायत स्थानीयबासीहरुको भेलाले सर्वसहमतिले वडा विभाजन गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेलाले हालको सिम्ले गाविस वडा नं. १, जलजले गाविस वडा नंं २,  ओयाक्जुङ गाविस वडा नंं. ३, सम्दु गाविस वडा नं. ४ र इसिवु गाविस वडा नं.५ मा विभाजन गरिएको छ । जिल्लामा राजनीतिक दलहरुको सर्वसहमतिको निर्णयले नौ स्थानीय निकाय बनाउने सहमति गरेकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्राविधिक सहयोग समिति संयोजक स्थानीय विकास अधिकारी कार्कीले आयोगको निर्देशन बमोजिमको पाँच स्थानीय निकाय र सर्वसहमतिको नौ स्थानीय निकाय बनाउने निर्णयलाई बैकल्पिकमा राखेर सिफारिस गरिने जानकारी दिनुभयो । राजनीतिक दलहरुले सो गाउँपालिकाका पाँच गाविसमध्ये जलजले र ओयाक्जुङको एक गाउँपालिका तथा सम्दु, इसिवु र सिम्ले गाविसको अर्को गाउँपालिका बनाउने सहमति गरेका थिए ।

प्राविधिक सहयोग समितिले आज आठराईको सक्रान्तिबजार, छथरको शुक्रबारे, बसन्तपुर र भोलि म्याङलुङ्गमा छलफल कार्यक्रम गर्ने र वडा विभाजनको कार्य टङ्ग्याउने तयारी गरेको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!