माघमा निक्षेपको ब्याजदर घट्ने, अधिकतम ब्याजदर ११ प्रतिशत

Posted on: 12 Jan, 2023

पुस २८, काठमाडौँ | पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । जसअनुसार माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । त्यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।


बजारमा सकारात्मक सन्देश दिन पनि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले बताए । तरलता अवस्थामा सुधार आएको र समग्र ब्याजदर धेरै माथि जान नदिनका लागि पनि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको उनको भनाइ थियो । ‘संघको बैठकले ब्याजदर घटाउने निर्णय गरे पनि सदस्य बैंकहरुसँग सहमति लिन बाँकी छ,’ उनले भने, ‘संघको निर्णय सबै बैंकहरुले मान्नुहुन्छ भन्ने विश्वास छ ।’

हाल (पुसमा) बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।

वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएको, समग्र ब्याजदर धेरै माथि पुगेको, बैंकहरुको लागत कम गर्नु परेको लगायत कारण ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर घटाएपछि विकास बैंक र वित्तीय कम्पनीले पनि घटाउने सम्भावना बढेको छ । ६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशन गरेका बैंकहरूले मंसिर र पुसमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!