अमेरिका पठाइदिन्छु भन्दै ३६ जनासंग रकम ठगी गर्ने दुई महिला पक्राउ

Posted on: 17 Jun, 2023

असार २, काठमाडौँ | अमेरिका पठाइदिन्छु भन्दै ३६ जनासंग रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।

अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरी अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र प्रोफिट स्टक अप्सन टिएफ एक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलर सम्मको जागिर लगाई दिन्छु भन्दै नेपालमा रहेका निर्मला महर्जन,अल्पा ढकाल मार्फत विश्वास दिलाई झुक्यानमा पारी ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न निर्मला र अल्पालाई पक्राउ गरेको हो ।

उनीहरू माथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ  सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!