जेठ ७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति समेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुनेगरी बेलतबी बिदाको पत्र दिएको हो ।

कोरोना भाइरस (कोभिड १९) का कारण देश नै लकडाउनमा भएको र काम ठप्प भएकाले उनीहरुलाई अनिश्चितकालीन बेतलबी पत्र दिइएको कम्पनीले जनाएको छ । आइएमई मोटर्स प्रालिले बैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको हो । कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजता बारे जानकारी गराउन सक्ने व्यहोरा पत्रमा उल्लेख छ ।

आइएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र युएमका मोटरसाइकल तथा एसकर्टस्का हेवी इकयुपमेन्ट बिक्री गर्दै आएको छ। यी चार वटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको कम्पनीले जनाएको छ ।

कोरोना महामारीका कारण लकडाउनले दैनिक कार्य हुन नसकेको ढकालले नै सरकार, मजदूर र रोजगारदाता तीनवटै पक्षले समान ३३/३३ प्रतिशत क्षति ब्यहोर्ने प्रस्ताव अघि सारेका थिए तर त्यस विपरित नै उनकै कम्पनीले ठूलो संख्यामा कर्मचारीलाई अनिश्चितकालीन बेतलबी बिदामा राखेका हुन् । यसबारेमा ढकालसँग प्रतिक्रिया लिन खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।