सहकारीका सदस्यहरु: सदस्य जस्तै कहिले बन्ने ?

Posted on: 20 Nov, 2023

प्रतिमान पौडेल |

यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ । 

मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समुह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नती प्रगतिको अपेक्षा कसरी गर्ने ?

सबै मिलेर वित्तीय संकट समाधानका लागि लाग्नु पर्ने अहिलेको समय हो । यद्यपी दलहरुका बीचमा मुलुकको वित्तीय संकट प्राथमिकतामा परेको देखिदैन । वित्तीय संकटले देशका विभिन्न क्षेत्रलाई प्रभावित बनाएको छ । 

वित्तीय संकटको बाछिटोले सहकारी क्षेत्रलाई पनि अलमलाएको छ । वित्तीय संकटसंगै सहकारीका साहुकारीहरुले गर्दा पनि सहकारीलाई उल्झनमा पारेको छ । सहकारीको ब्यानरमा साहुकारी योजना चलाएका स्वनामधान्य साहु महाजनहरुले सहकारीको गर्नु बदनाम गरेका छन् । सहकारीका नाममा आम मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर आम जनताको पैसा बटुल्ने र त्यो पैसाले निजी बंगाला, कम्प्लेक्स, डिपार्टमेण्टल स्टोर, हाउजिङ लगायतका सम्पत्ती जोड्ने साहुकारीहरुका कारण आज सहकारी क्षेत्रको साख दिन प्रतिदिन कमजोर हुदै गएको छ ।

राज्यले बनाएको कानुनले ति साहुकारीहरुलाई छुन सकिरहेको छैन । नगरपालिकाको बहालवाला मेयरले दिन दहाडै जनताका आँखामा छारो हालेर वेपत्ता हुन्छ, राज्यको कानुनले उसलाई फेला पार्न सक्दैन । ढोरपाटन नगरपालिका बागलुङका मेयर देव कुमार नेपालीले विभिन्न खालका प्रलोभन देखाएर पैसा जम्मा गर्छन र त्यो पैसा आफ्नो नाममा जग्गा खरिद र भवन निर्माणमा लगाउछन, सदस्यहरु वचत फिर्ताका लागि जादाँ लगानी देखाउन सक्दैन, अघिल्लो दिनसम्म आफै अध्यक्ष भएका नेपालीले संकट आएपछि अर्को व्यक्तिलाई कार्यवाहक दिन्छन् र उम्कन खोज्छन् । संस्थामा समस्या आएपछि उनै कार्यवाहक अध्यक्षको नामबाट सूचना जारी गर्छन् र उम्कन खोज्छन् । सहकारी अभियानका अगुवाहरुको निकै ठुलो दवाव पछि बल्ल उनले आफ्नो निजी सम्पत्ती बेचेर वचत फिर्ता गर्छु भन्ने प्रतिवद्धता सहितको वक्तव्य निकालेको चर्चा व्यापक छ । त्यो मात्रै होइन, उनको नामबाट जारी भएको वक्तव्य सहकारीकर्मी मध्येकै एकजनाले बनाएर पठाइदिएको र उनले निकालेको पनि चर्चा छ । त्यो वक्तव्यका विषयमा पछि केही पीडितहरुसंग कुरा गर्दा उनले मलाई यस्तो विज्ञप्ती निकाल्न लगाएर फसाइयो सम्म भन्न भ्याएको पनि पीडितहरुले बताउने गरेका छन् । जेठ ५ गतेदेखि देवकुमार नेपाली वेपत्ता भएका हुन, उनी वेपत्ता भएको ६ महिना पुग्यो । एउटा मेयर जस्तो मान्छे ६ महिनासम्म वेपत्ता हुदा पनि हाम्रो सत्ताले फेला पार्न सक्दैन । उनको अनुपस्थितिमा ढोरपाटन नगरपालिका चलिरहेको छ । कार्यवाहक पाएका विपक्षीहरु पनि  मख्ख नै छन् । गठबन्धनवालाहरुले कार्यावाहक पाएपछि त्यसैलाई उपलब्धी मानेर बसेका छन्, मेयर वेपत्ता भएको विषयमा कसैको चासो, चिन्ता देखिदैन । सर्वसाधारणले खाइ नखाई गरेको रकम भुक्तान गर्ने योजना राज्य बनाउदैन । उसको अरबौको सम्पत्ती छ, उ वेपत्ता भएका कारण आज बागलुङ र कास्कीका जनताले देव कुमार नेपालीलाई सराप्दै दिन कटाउनु पर्ने अवस्था छ । कतिलाई डिप्रेसन भएको छ, कतिको परिवारमा कचपच बढेको छ । 

राष्ट्रिय सहकारी बैंकले नेपालीको करिव २ अर्बको सम्पत्ती दृष्टिवन्धक गरेर २५ करोड ऋण दिएको रहेछ । बैंकले लिलामी निकालेको छ, लिलामी गरेर अर्कोले जग्गा लग्यो भने पीडितलाई कसरी न्याय हुन्छ ? वा कसैले पनि लिलाम स्वीकार गरेनन् भने बैंकले नै सम्पत्ती लियो भने के हुन्छ ? यस्तो संवेदनशिल विषयमा राज्यको मौनता झन हेर्न लायक छ । 

देव कुमार नेपाली मात्र होइन, यस्तै प्रवृतिका सयौ सहकारीले सदस्य केन्द्रीत भएर कारोबार गरेका हजारौ सहकारीलाई अप्ठेरोमा पारेका छन् । सहकारीको विश्वास कम भएको भन्दै सदस्यहरु धमाधम आफ्नो पैसा फिर्ता लिन गइरहेका छन् । बचत गर्ने भन्दा पैसा फिर्ता लैजाने बढी भएपछि सहकारीहरुलाई तरलता व्यवस्थापन गर्न निकै नै सकस पनि भएको छ ।

सदस्यहरु पनि कस्ता छन् भने सहकारीलाई जस्तो सुकै समस्या आओस् आफ्नो पैसा फिर्ता गर्न खोज्छन्, सबै सदस्यहरु एउटै समयमा पैसा फिर्ता लिन गएपछि सहकारीले पैसा फिर्ता गर्न सक्दैन, अनि सदस्य, मिडिया र सहकारी विरोधीले सहकारीले पैसा फिर्ता गर्न नसकेको कुरालाई व्यापक बनाउछन्, थप सदस्यहरु लाइन लाग्न पुग्छन्, आन्दोलन हुन्छ, सञ्चालकहरु भाग्छन्, अनि वचतकर्ताहरु थप पीडामा पर्छन । सञ्चालकहरुले संस्था चलाउने समयसम्म सदस्यहरुले दवाव दिन्छन्, जब भाग्छन् अनि फेरी लौन सञ्चालकहरुलाई खोजिदेउ भन्दै पीडित संघर्ष समितिका नाममा आन्दोलन, नेताहरुको घरदैलो र दवाव, धर्ना शुरु हुन्छ ।

देव कुमार र उनी जस्ता बद्मासहरुले गर्दा यो सबै भएको हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । सहकारीमा सदस्यहरुले वचत गर्छन्, भएकाहरुले वचत गर्छन् आवश्यक पर्नेहरुले ऋण लैजान्छन्, वचत आइरहने, ऋण उठिरहदा वचत फिर्ताको काम पनि नियमित नै थियो । जव सहकारीमा समस्या देखियो तव वचत आउने क्रम कम भयो, वचत नआउने, ऋण पनि भनेको समयमा नउठ्ने तर वचत फिर्ता भने दिन दिनै बढी बढी गर्नु पर्ने अवस्था आएपछि धेरै सहकारीहरुलाई समस्या सिर्जना भएको यथार्थ हो ।

सदस्यहरुले सबै भन्दा पहिला आफ्नो संस्थाको बारेमा बुझ्न जरुरी छ । के तपाई सदस्य भएको सहकारी पनि इमेज, शिवशिखर जस्तै हुन् । सदस्य नबनाइ वचत गर्ने, वचत गरेको रकम सञ्चालकको घर जग्गामा लगाउने, साधारणसभामा परिवारलाई नै बोलाएर भोज भतेर गर्ने, मदिरा सहितको भोज गर्ने, साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन केही नल्याउने, गर्नै परे पनि मौखिक प्रस्तुत गर्ने, सदस्यहरुलाई कहिल्यै सहकारी शिक्षा नदिने, कर्मचारीहरुको क्षमता विकास कहिल्यै नगर्ने, सहकारीको नाम मात्रै काम सबै साहुकारी गर्ने खालका सहकारी हुन त तपाई सदस्य भएको ? 

कि सदस्यसंग मात्रै वचत गर्छन, सदस्यलाई मात्रै ऋण लगानी गर्छन, असोज मसान्तसम्ममा लेखापरीक्षण सम्पन्न गर्छन, पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्छन, वार्षिक प्रतिवेदन व्यवस्थित रुपमा तपाईको हातमा पु¥याउछन्, बेला बेलामा सहकारी शिक्षाका कार्यक्रम गर्छन, कर्मचारीलाई दक्षता अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्छन् यदी यसो गर्छन भने तपाई सदस्य भएको सहकारी त सहकारीकै मूल्य मान्यतामा चलेको रहेछ त ।

सहकारी कसरी चलेको छ, बुझ्नुस, साधारणसभामा भत्ताका लागि मात्रै नजानुस, वचतमा बढी ब्याज पाउने र शेयरमा बढी बोनस पाउने मात्र चिन्ता गर्नु हुन्छ भने तपाईको रकम जोखिममा पनि पर्न सक्छ । नाफा भन्दा पनि दिगोपना हेर्नुस । इमेज सहकारीले १५÷१६ प्रतिशत ब्याज दिन्छ, के के उपहार दिन्छ, ब्याजको कर पनि तिर्न पर्दैन भनेर बढी बढी रकम इमेजमा राख्नेहरु पनि भेटिए, आज इमेजका साहु भागेपछि उनीहरुलाई कति समस्या भएको छ, एक पटक इमेजका पीडितहरुसंग भलाकुसारी गर्नुस ।

तपाई सदस्य भएको संस्थाको यथार्थ पत्ता लगाउनुस र ढुक्क भएर कारोबार गर्नुस, अब मेरो पनि पैसा डुब्छ कि ? भनेर रातभर जागा बस्ने दिनभर संस्थाको वरिपरी चक्कर लगाउने अवस्था दिगो खालका सहकारीहरुमा पर्दैन ।

यदी सदस्यहरुलाई लगानी गरेको छ, सञ्चालकहरुले सामुहिक रुपमा निर्णय गरेका छन्, साधारणसभामा सञ्चालकहरु सबैको उपस्थिति हुन्छ, सञ्चालकहरुले सामुहिक जिम्मेवारी लिन्छन् भने संस्था बिग्रदैन ।

यतिबेला सहकारीहरुले साधारणसभा गर्दैछन् । पुस मसान्त भित्र सबै सहकारीहरुले साधारणसभा गरिसक्न पर्छ । साधारणसभामा तपाई जानुस, संस्थाको अवस्था बुझ्नुस र संस्थालाई यो बेलामा सहयोग गर्नुस ।

एकादुईले बदमासी गरे भनेर सबैलाई एउटै डालोमा हालेर व्यवहार नगर्नुस । सबै बद्मास छैनन्, सबै खराव होइनन, सबैले सहकारीको पैसा आफ्नो निजी सम्पत्ती कमाउन प्रयोग गरेका छैनन् ।

ऋण लगानी गर्दा ढंग पुराएका छैनन् होला, कागजपत्र सही ढंगले मिलाएका छैनन् होला तर नियत खराव छैन भने सबै कुरा सहज बनाउन सकिन्छ ।

हिजो तपाईलाई सारो गारोमा सहकारीले कत्तिको साथ दिएको थियो, ऋण माग्दा दियो कि दिएन, तपाईको घर परिवारको कोही सदस्यको निधन हुदा दुख साट्यो कि साटेन, तपाईलाई व्यवसाय सञ्चालनका लागि पैसाको अभाव हुदा साथ दियो कि दिएन, घर बनाउदा, जग्गा खरिद गर्दा, छोरा छोरीलाई पढाउदा, विदेश पठाउदा, तपाईलाई छोरा छोरीले विदेश बोलाउदा बैंक ब्यालेन्स देखाउनका लागि सहयोग गरेको त बिर्सनु भएको छैन नि ? कि हिजो तपाईलाई गरेको सहयोग बिर्सेर आज शेयर फिर्ताको निवदेन लिएर सहकारीमा धाइरहनु भएको छ ? यदि यसो गर्नु भएको छ भने तपाई स्वार्थी मान्छे हो । आफुलाई चाहिदा सहकारीलाई प्रयोग गर्ने अहिले सहकारीलाई समस्या आउदा सहयोग गर्नुको साटो उल्टै शेयर फिर्ता लिन निवेदन बोकेर दिन दिनै सहकारीमा धाउने तपाई र तपाई जस्ता स्वार्थीहरुका कारण पनि सहकारीलाई समस्या परिरहेको छ ।

सहकारी कस्तो हो भन्ने कुरा तपाईलाई सहकारीले गरेको व्यवहारबाट पुष्टि भइहाल्छ नि ? अप्ठेरोमा साथ दिएको थियो, ऋण दिएको छ, सारो गारोमा साथ दिएको छ भने त सहकारी सहकारीकै मर्म अनुसार चलेको छ नि ? 

सबैलाई एउटै डालोमा हालेर सबै बद्मास हुन, अब एक पछि अर्को सहकारी बिग्रन्छ भन्दै तपाई शेयर फिर्ताको निवेदन लिएर सहकारीमा जाने, तपाई जस्तै अरु अरु पनि कोही वचत फिर्ता गर्न, कोही शेयर फिर्ता गर्न लाइन लाग्ने हो भने दुनियाको कुनै पनि सहकारी मात्रै होइन, बैंक वित्तीय संस्थाले पनि पैसा फिर्ता गर्न सक्दैनन । 

यतिबेला सहकारीहरु साधारणसभाको मेलोमा छन् । बरु साधारणसभामा गएर ऋण नउठेको भए उठाउने योजना बनाउन सघाउनुस, संस्थाको यथार्थ अवस्थाका बारेमा बुझ्नुस र सक्नु हुन्छ भने सहयोग गर्नुस । 

तपाईले फिक्स (सहकारीमा आवधिक भन्छन् क्यारे) वचत गर्नु भएको छ । १३÷१४ अझै कतिपयमा त १५ प्रतिशत सम्म ब्याज लिनु भएको छ । अझै मासिक ब्याज चाहिन्छ भनेर सहकारीलाई अप्ठेरो पार्नु भएको छ । तपाईले त्यति धेरै ब्याज लिएपछि संस्थाले लगानी गर्नु परेन, लगानी नगरी कसरी तपाईलाई ब्याज दिन सक्छ ? यो बेला लगानी गरेको रकम भनेको समयमा उठिरहेको छैन । अनि तपाई चाही मेरो समय सकियो ले की ले भनेर दवाव दिदै हुनुहुन्छ । तपाई र तपाई जस्तै सदस्यको दवावका कारण कतै तपाई सदस्य भएको संस्थामा पनि वित्तीय समस्या त आउदैन, विचार गर्नु होला । सोध्नुस, के छ अवस्था, कहिलेसम्म मिलाउन सक्नुहुन्छ्, कसरी मिलाउछन् साथ दिनुस । समय थप्न सकिन्छ भने अड्डी नकस्नुस, समय थपेर तपाई र तपाई जस्तै सदस्यको पैसा फिर्ता हुने वातावरण छ भने साथ दिनुस् । तपाईको पैसा नडुब्ने कुराको सामुहिक प्रतिवद्धता लिनुस् । 

तपाईले मेरो पैसा झिकिहाल्छु, भन्ने अर्कोले त्यसै भन्ने अर्कोले पनि त्यसै भन्ने हो भने दुध पोखरी बनाउन खोज्दा पानी पोखरी भए जस्तै सबै पैसा फिर्ता माग्दा संस्था बन्द हुने र फेरी सबै शेयर सदस्यहरुको रकम जोखिममा पर्न सक्छ ।

सहकारी बन्द हुने अवस्था सदस्यहरुले सिर्जना नगर्नुस भन्ने मेरो आग्रह हो । कतिपय सहकारीका सञ्चालकहरु त सदस्यहरुले दवाव दिए बन्द गर्न हुन्थ्यो भनेर पनि बसेको पाइएको छ । किनकी सहकारी बन्द भयो भने सबै भन्दा सहज सञ्चालक र कर्मचारीलाई हुदो रहेछ भन्ने त देखियो नि ? बदनाम त हुन्छ, जेल जान पर्ला, भाग्न पर्ला तर पैसाको व्यवस्थापन गर्न नसकेको अवस्थामा उनीहरुले यो सबै सहन पनि सक्छन् । मुलुकका केही सहकारीका सञ्चालकहरु जव संस्था बन्द गरेर वेपत्ता भए वा जेल गए, ति सहकारीका वचतकर्ताको विचल्ली हेर्दा संस्था बन्द गर्नु सदस्यहरुका लागि नै क्षति हुने विषय रहेछ । त्यसैले सबै सदस्यहरु मिलेर तपाईहरु शेयर सदस्य भएको संस्था सञ्चालनमा योगदान गर्नुस ।

देव कुमार नेपाली वेपत्ता भएपछि इमेजका पीडितहरुले यो ६ महिनामा भोगेको दुख, पाएको तनाव हेर्दा सहकारी बन्द हुदा सदस्यहरुलाई समस्यामाथि समस्या पर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । हाल आएर इमेज सहकारीलाई ब्यूताउने विषयमा छलफल शुरु भएको छ । सहकारीलाई ब्युताउदा मात्रै वचतकर्ताको रकम सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सहकारीकर्मी र पीडितहरुले बताउने गर्छन् ।

आखिर बन्द भएको सहकारीलाई त ब्यूताउनु पर्ने अवस्था आउदो रहेछ भने तपाई सदस्य भएको र चलिरहेको संस्थालाई निरन्तर चलाउनका लागि के गर्न सकिन्छ ? साधारणसभामा छलफल गर्नुस् । तपाईले गत वर्षहरुमा नाफा दिएकै थियो, साधारणसभा भत्ता दिएकै थियो, सक्नु हुन्छ भने यो वर्षका लागि नाफा र भत्ता होइन, सहकारीको दिगोपनका लागि योजना बनाउन सघाउनुस, अनि बल्ल तपाई सहकारीको असल सदस्य बन्नु हुन्छ । खाली कसरी सहकारीबाट फाइदा लिने मात्र भन्नुभयो भने सहकारी समस्यामा पर्न सक्छ । 

मानौ १ हजार जना सदस्य भएको संस्था छ, त्यसलाई सहज रुपमा सञ्चालन गर्नका लागि तत्काल तरलता व्यवस्थापनमा समस्या भएको छ भने १ हजार जनाले २० हजारका दरले केही समयलाई वचत गरिदिने हो भने २ करोड रकम जम्मा हुन्छ । तरलता व्यवस्थापनमा त्यो पैसाले सहकारीलाई सहज हुन सक्छ, अनि संस्थाले ऋण उठाउने, अन्य वचतहरु संकलन गर्न सक्यो भने सहज रुपमा संस्था सञ्चालन हुन सक्छ ।

सहकारीका सदस्यहरुले संस्थाले नाफा गर्दा नाफा लिने, ब्याज लिने मात्रै होइन, संस्थामा अप्ठेरो परेको अवस्थामा पनि साथ दिनसक्नु पर्छ । एकले थुकी सुकी सयले थुकी बगी भने जस्तै सदस्य केन्द्रीत भएर कारोबार गरेका सहकारीलाई जोगाउनका लागि सदस्यहरुको भूमिका सबैभन्दा बढी हुन जरुरी छ । सहकारीमा भएको पैसा तपाईहरुको वचत र शेयरको रकम हो, तपाईहरुको रकमबाट ऋण लगेका सदस्यहरुले तिरेका छैनन् भने साधारणसभाबाट निर्णय गरेर असुलीमा सघाउनुस, सहकारीमा समस्या आएको हो, संकट आएको छैन, बैशाखमा भन्दा असारमा सुधार भयो, असारमा भन्दा असोजमा सुधार भयो र असोजमा भन्दा मंसिरमा सुधार हुदैछ । त्यसैले धैर्यता गर्नुस, गलत गरेका छन् भने कार्वाही गर्नुस, गर्दा गर्दै समस्या परेको हो भने सहयोग गर्नुस । सहकारी तपाईहरुको हो, सहकारीलाई जोगाउने वा डुवाउने पनि तपाईकै हातमा छ, त्यसैले सहकारीका सदस्यहरु सचेत बन्नु होला ।

जय सहकारी  

यस बिषयमा तपाइको प्रतिक्रिया...!