सामाजिक सुरक्षा कोषलाई परिणाममुखी बनाउन श्रम मन्त्री अर्यालको निर्देशन

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारवाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । 


मन्त्री अर्यालले कोषका कर्मचारीसँग छलफल गर्दै कम्तीमा एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिएका छन् । ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौ,’ उनले भने । कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री अर्यालको भनाई छ । मन्त्री अर्यालले काम गर्न आवश्यक पर्ने स्रोत, साधन र विज्ञता मन्त्रालयले उपलब्ध गराउने बताएका छन् । 

त्यस्तै, मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै सचेतना जगाउनु पर्ने मन्त्री अर्यालले  बताए । उनले भने- ‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै  जनतामा पुग्छ , त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ ।’ 

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको अहिलेको अवस्था, काम कारवाही र भावी योजनाको बिषयमा प्रस्तुती राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!