दयाहाङलाई ट्याग गर्दै चौधरीको स्टाटस: ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही फिल्मबाट कमाउनुहुन्छ जस्तै छ ’

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ  | एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको फिल्म ‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफूले काम नगरेको भन्ने संवाद समावेश छ । यो टिजरको आकर्षक पक्ष हो । दयाहाङले जुन मुडमा संवाद भनेका छन्, त्यसले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि आफूलक्षित उक्त संवाद मन पराएका छन् ।

शुक्रबार फेसबुकमा टिजरको क्लिप सेअर गर्दै उनले आफ्नो वार्षिक कमाईभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका छन् । उनले दयाहाङलाई ट्याग गर्दै लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ जस्तै छ त दयाहाङजी । हैट ।’ 

सांसद् समेत रहेका उद्योगपति चौधरी नेपाली फिल्मसँग नजिक पात्र हुन् । उनले फिल्म समेत निर्माण गरेका छन् । सन् १९८४ मा आएको फिल्म ‘बासुदेव’को निर्माता हुन्, उनी । यसपछि उनकै कम्पनी चौधरी इन्टरटेन्मेन्टले एक दशक अगाडि अभिनेत्री ऋचा शर्मासँग मिलेर फिल्म ‘भिसा गर्ल’को पनि निर्माण गरेको थियो । यसैले चौधरीलाई फिल्मको बजार र आम्दानीबारे राम्रो ज्ञान छ ।

नयाँ वर्ष (२०८१)मा रिलिज हुन लागेको ‘डिग्री माइला’मा दयाहाङको जोडी आँचल शर्मासँग बाँधिएको छ । प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईंको पनि फिल्ममा अभिनय छ । शैक्षिक बेरोजगारीले युवामा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बनेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!