‘प्रेम गीत ३’ विवादबारे यस्तो भन्छन् दीपकराज गिरी !

Posted on: 20 Sep, 2022

असोज ४, काठमाडौँ | निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ । 

दीपकराजले ‘प्रेम गीत ३’ले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको भन्दै त्यसको लागि सम्पूर्ण टिम बधाईको पात्र रहेको बताएका छन् । मंगलवार बिहान चलचित्रलाई शुभकामना दिँदै दीपकराजले लेखेका छन्, ‘प्रेमगीत–३’ चलचित्रले नेपाली बजारलाई विस्तारित गरेको छ । यसको लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो, अधिकार माग्नेले पनि मिल्ने सम्म मागौँ । दिनेले पनि मिलेसम्म सहयोग गरौँ ।’ ‘प्रेम गीत ३’ आगामी शुक्रवारदेखि नेपाल र भारतसँगै अन्य विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । भारतमा हिन्दी भाषामा डब भएर प्रदर्शन हुन लागेको चलचित्र नेपालमा भने नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारी छ । 


हिन्दी संस्करण प्रदर्शनका लागि चलचित्र टिमले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको छ । तर, बोर्डले भने हिन्दी डब (संस्करण)को प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ । 

विदेशी चलचित्रले चलचित्र विकास कर बापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता हलहरूले चलचित्रलाई रातिको शो राखेका छैनन् । यी कारण केही दिनअघि अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका थिए । 

त्यसपश्चात ‘प्रेम गीत ३’ र विकास बोर्डबीचको विवाद उत्कर्षमा पुगेको छ । सोही प्रसंगलाई लिएर दीपकराजले शुभकामना दिँदै धारणा सार्वजनिक गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!