माओवादी, एस र जसपाबीच एकताको प्रयासः प्रचण्डको माधवलाई भावी प्रधानमन्त्रीको अफर

Posted on: 14 Aug, 2024

साउन ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाल तीनवटा पार्टी एकता प्रक्रियामा रहेको बताइएको छ । पछिल्लो साता उक्त चर्चाले राजनीतिक बजारलाई तताए पनि यी तीन पार्टी मिल्ने ठोस आकार भने लिइसकेको छैन ।

तर, एसका नेताहरूसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने छलफल गरिरहेका छन् । एस स्रोतका अनुसार प्रचण्डले अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग निरन्तर छलफल गरिरहेका छन् । यद्यपि, यसमा एसका महासचिव घनश्याम भुसालको सहभागीता भने छैन ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्दर्भमा केही प्रगति भएको स्रोतको दाबी छ । विगतमा हल्ला बढी भएको थियो, अहिले एकताका लागि केही प्रगति भएको एस स्रोतको भनाइ छ । पत्सँरकारगको कुराकानीमा माधव नेपालनिकट स्रोतले भन्यो, 'अहिले झन्डै ७० प्रतिशत प्रगति भएको छ । तर, विषयवस्तु अन्तिम टुंगोमा पुगेको छैन । संभवतः एकता हुन्छ होला, तर एकता हुँदा उपेन्द्र यादवसहित हुन्छ ।'


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभन्दा बाहिरको राजनीतिक वृत्त मात्र होइन, पार्टीभित्रै पनि घेराबन्दीमा परेका छन् । उनी राजनीतिक रूपमा यतिधेरै कमजोर अवस्थामा संभवत पहिलोपटक पुग्दै छन् । पार्टीका हरेक मोर्चा र नेताले प्रश्न उठाउन थालेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर अब त नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् । पार्टीभित्र नै विकल्प खोजिन थालेको अवस्था र बाह्य राजनीतिक प्रभाव पनि कमजोर भएका कारण प्रचण्ड बलियो बन्ने खेलमा छन् ।

त्यही खेलका क्रममा एकताको चर्चा भएको बताइएको छ । प्रचण्डले खुमलटारमा भेट गरेपछि एसका एक नेताले प्रचण्डको उदासपन र विरक्तिबारे पार्टीका केही निकट नेताहरूलाई सुनाएका थिए । एस स्रोतका अनुसार प्रचण्ड पछिल्ला दिनमा निकै तनावमा रहेको देखिएका छन् ।

यता, माधव नेपाल पनि पार्टी जोगाउनुपर्ने बाध्यतामा छन् । प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्यपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डर नेपालको छ । नेपाल, खनाल र भुसालचाहिँ एमाले अध्यक्ष ओलीसँग सहजै मिल्ने अवस्थामा छैनन् ।

हुन त, राजेन्द्र पाण्डेसहितको एउटा टोली माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् । तर, पार्टी एमालेमा बुझाउने भन्दा माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने रहरमा नेपाल र खनाल छन् । स्रोतका अनुसार त्यस्तो अवस्थामा वामदेव गौतम र भीम रावललाई पनि समेट्न सकिने आँकलन रहेको छ । त्यसैले, पार्टी एकतापछिक माओवादी पार्टीको नाम परिवर्तन र नेतृत्वको विषयमा पनि छलफल हुन थालेको छ ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई संसदीय दलको नेताको अफर गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने गरी संसदीय दलको नेता बन्न अफर गरेका कारण नेपाल पनि सकरात्मक रहेका छन् । तर, नेपालले उपेन्द्र यावदलाई पनि साथ लिनुपर्ने तर्क गरेका छन् । यादवलाई पनि पार्टी जोगाउन हम्मेहम्मे परेको छ । त्यस्तो अवस्थामा एकतामा आउन पनि सक्ने अनुमान रहेको छ । तर, उनको व्यवस्थापन भने निकै सकस रहेको पनि चर्चा भइरहेको छ । त्यसैले, तीन पार्टीबीच एकताको प्रयासले गति लिए पनि निर्णयमा पुग्न सकिरहेको छैन । -शिलापत्रबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!