वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन म्यानपावरलाई विभागको चेतावनी

Posted on: 25 Jul, 2024

साउन १०, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो ।

त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।

म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । त्यस्तो कार्य नगरेर विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले सचेत गराएको हो ।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ । त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ । त्यस्तो नगरेको खण्डमा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!