इलाममा उपनिर्वाचन: कुन पार्टीको को-को छन् आकाङ्क्षी?

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौँ | आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् । 

गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

विसं २०५६ यता सबै निर्वाचन जित्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अघिल्लो निर्वाचनमा एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी केन्द्रलगायत दल पनि चुनावी गतिविधिलाई बढाउँदै लगेका छन् । 


एमालेमा आबद्ध छ जनाले उम्मेदवार सिफारिसका लागि पार्टीद्वारा गठित कार्यदलमा निवेदन दिएका छन् । कार्यदल सचिव उमेश गुरुङका अनुसार स्व सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ, एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवी क्षेत्री दुलाल, एमाले इलाम–२ क्षेत्रीय संयोजक बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई र प्रदेशसमिति सदस्य रिपल राईले उम्मेदवार सिफासिका लागि कार्यदलमा निवेदन दिएका छन् । 

सो कार्यदलले सकेसम्म सर्वसम्मतको प्रयास गर्ने र सम्भव नभए जिल्ला कमिटीमार्फत सबैको नाम केन्द्रीय कमिटीमा पठाउने सचिव गुरुङले बताए । “हामी चैत ३ गतेसम्म सर्वसम्मतका लागि प्रयास गर्छौं, सम्भव नभए जिल्ला कमिटीमा पठाउँछौँ र जिल्ला कमिटीले चैत ५ गतेसम्म सबैको नाम केन्द्रीय कमिटीमा पठाउनेछ”, गुरुङले भने । 

एमालेले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन एमाले इलामका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा जिल्ला सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे र दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले उम्मेदवार हुन इच्छुकलाई व्यक्तिगत विवरणसहित निवेदन दिन आग्रह गरेको थियो । 

एमाले केन्द्रीय कमिटीले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशनमा जिल्ला कमिटीले उम्मेदवारीका लागि एक महिलासहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने उल्लेख छ । 

नेपाली कांग्रेसबाट स्थानीय राजनीतिमा पकड जमाएका पाका नेता एवं महासमिति सदस्य भेषराज आचार्य उम्मेदवार बन्ने सम्भावना बलियो छ । साथै पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमाल कांग्रेस इलामका जिल्ला सभापति डम्बरबहादुर खड्काले उम्मेदवारीका लागि दाबी गर्दै आएका छन् । गत निर्वाचनमा एक सय १४ को झिनो मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पनि यसपटक गठबन्धन बिना चुनाव लड्ने रणनीतिमा छ । गत निर्वाचनमा गठबन्धन गरी कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले यसपटक कसैसँग गठबन्धन नगर्ने प्रदेश समितिले निर्णय गरिसेकेको छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमन), पार्टी प्रदेश सदस्य हर्कबहादुर लावती र जिल्ला संयोजक विजय खम्बूको नाम पनि चर्चामा छ । यद्यपि, माओवादी केन्द्रले आधिकारिक रुपमा उम्मेदवार घोषणा र सिफारिस भने गरेको छैन । 

जनता समाजवादी पार्टी (जसपा)नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार उठाउने चर्चा चले पनि हालसम्म आधिकारिकरुपमा नाम सार्वजनिक गरिसकेको छैन । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेलगायतको नाम चर्चामा छ ।  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उनी गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार छ सय ४५ मतान्तरले पराजित भएका थिए। 

साथै प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!