दोहा उडेको ४५ मिनेटपछि पुनः काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको जहाज

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । काठमाडौंबाट बिहीबार राति साढे १० बजे दोहा उडेको नेपाल वायुसेवा निगमको जहाजमा समस्या आएपछि पुनः काठमाडौं नै फर्केको छ ।

जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको हो । नेपाल एयरलाइन्सका प्राविधिक म्यानेजर देवेन्द्र पुनले ४५ मिनेट उडेर जहाज काठमाडौंमा नै ल्याण्ड भएको बताए ।


उनले भने, ‘नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० को जहाज हिजो राति साढे १० बजे उडेको थियो । हाइड्रोलिकमा समस्या आएपछि सो जहाज पुनः राति ११ बजेर १५ मिनेटमा ल्याण्ड भएको हो । अर्को जहाज व्यवस्थापन गरेर करिब २ घण्टापछि यात्रुहरूलाई दोहा पठाइसकिएको छ ।’

जहाजमा २ सय ६३ जना यात्रु रहेका थिए । जहाज करिब ७० नटिकल माइल उडेपछि काठमाडौं आएको हो ।

दोहा उडेर हाइड्रोलिकमा समस्या आएको जहाज अहिले बनिसकेको छ । त्यो जहाजलाई दिल्ली उडाउने तयारी रहेको एयरलाइन्स बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!